Logo

वीरगञ्ज र रक्सौलमा २ हजार ५ सय आयातित गाडी थुप्रिए



वीरगञ्ज, बैशाख २८ । एक महीनाअघि आयातकर्ताले मालसामान नल्याएर भन्सार परिसर नै खाली हुने अवस्थामा पुगेको बताउने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल सोमवार भने भन्सार आयातित सवारीसाधनले भरिभराउ भइसकेको बताइरहेका थिए । ‘दिनदिनै नयाँ सवारीसाधन थपिएका छन्, भन्सार हातामा जता हेर्‍यो, गाडीमात्रै देखिन्छ । भन्सार क्षेत्रमा हिँड्नै नमिल्ने भइसक्यो,’ प्रमुख भन्सार अधिकृत पौडेलले सुनाए ।

विदेशबाट आयातित सवारीसाधन आयातकर्ता व्यवसायीले समयमै भन्सार छुटाएर नलैजाँदा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज र सीमापारि रक्सौलका गोदाममा यतिबेला २ हजार ५ सयको हाराहारीमा सवारीसाधन थुप्रिएका छन् ।

बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गाडीलगायत विलासी वस्तुको आयातमा कडाइ गरेपछि सवारीसाधनका लागि नयाँ प्रतीतपत्र (एलसी) खुल्ने र भन्सार छुटाउने काम ठप्प भएको थियो । मुख्य नाका वीरगञ्ज भन्सारबाट १ सातासम्म एउटै गाडी नछुट्ने अवस्था पनि आएको थियो । ‘अहिले भन्सार परिसरमा जाताततै गाडी नै गाडी देखिन्छन्,’ पौडेलले भने ।

सरकारले सवारीसाधन आयातलाई खुकुलो बनाएकाले भन्सारमा गाडीको चाप बढेको भने होइन । बरु सवारीसाधन आयातमा सरकारले कडा नीति लिँदै छ भन्ने सूचना चुहिएकाले त्यतिबेला खुलेका एलसीका सवारीसाधन अहिले धमाधम भित्रिइरहेको वीरगञ्ज भन्सारका एक अधिकारीले दाबी गरे ।त्यतिबेला व्यवसायीले हतारमा खोलेका एलसीका गाडी अहिले भित्रिए पनि भन्सार छुटाउने पैसा नभएपछि गाडी भन्सार र आसपास क्षेत्रका गोदाममा थन्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्