Logo

आँपको मूल्य ६८ प्रतिशतसम्म बढ्यो



काठमाडौं, बैशाख २८। फलफूलको राजा मानिने आँपको सिजन शुरू भएको छ । सिजन शुरू भएसँगै बजारमा यसको मूल्य पनि महँगिएको पाइएको छ । अघिल्लो वर्ष यो समयमा भन्दा यसपालि ६८ प्रतिशतसम्म मूल्य बढेको पाइएको हो । अहिले नेपाली आँप बजारमा आइसकेको छैन ।

भारतीय आँपका लागि उतै महँगो तिर्नु परेकाले बजार मूल्य बढेको व्यवसायीको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य–सूचीमा उल्लेख भएअनुसार अघिल्लो वर्ष वैशाख २६ गते प्रतिकिलो १ सय २५ रुपैयाँ रहेको कलकत्ते आँपको थोकमूल्य यस वर्ष वैशाख २६ गते २ सय १० रुपैयाँ थियो । यो अघिल्लो वर्षको तुलनामा ६८ प्रतिशत बढी हो । खुद्रा बजारमा यो आँपको मूल्य प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयासम्म पर्ने गर्छ ।

दशहरी आँपको मूल्य पोहोरको तुलनामा ६२ प्रतिशतले बढेको छ । पोहोर प्रतिकिलो १ सय ४५ रुपैयाँ रहेकामा यसपालि २ सय ३५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा यसको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँसम्म पुग्छ । मालदह आँपको मूल्य ३३ प्रतिशतले बढेको पाइएको छ । यसको थोक मूल्य ७५ रुपैयाँ किलोबाट बढेर सय रुपैयाँसम्म पुगेको छ । खुद्रा बजारमा उपभोक्ताले यसका लागि प्रतिकिलो १ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ ।

अहिले नेपाली आँप बजारमा आउने बेला भइसकेको छैन । त्यसैले भारतीय आँपको बजार शुरू भएको छ । यो वर्ष भारतीय आँपको मूल्य उतैबाट बढेर आएकाले त्यसको असर नेपाली बजारमा परेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्