Logo

स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा



काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन महत्वपूर्ण र अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि गए राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचन महत्वपूर्ण चरणमा प्रवेश गरेको हो । ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ती उम्मेदवारलाई १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्नेछन् । मतदानमार्फत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुनेछ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको र निर्वाचन महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए ।

उनले आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न पनि सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसहित सबैमा आग्रह गरेका छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा ६५ दलले राजनीतिक रूपमा र बाँकी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएर निर्वाचनमा होमिएको जानकारी दिएका हुन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता पौडेलले बताए ।

उनले निर्वाचनमा विभिन्न राजनीतिक दलका ३ सय ५५ जना उम्मेदवार निर्विरोध निर्वाचित भएकोसमेत जानकारी दिए । त्यसमध्ये ६ जना वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएको उनले जानकारी दिएका हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्