Logo

फोहोर टेक्दै मत खसाल्नु पर्ने



काठमाडौं, बैशाख २८ । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनका मतदाताहरूले काठमाडौं उपत्यकामा थुप्रिएको फोहोरकै बीच मत खसाल्नुपर्ने अवस्था आएको छ । निर्वाचन मिति नजिकिँदासमेत फोहोर उठाउन उचित पहल नभएकाले यो अवस्था आएको हो ।

त्यसो त उम्मेदवारहरूले फाहोरकै बीच मत मागिरहेका थिए । सुशासन, समृद्धि र विकास निर्माणको नारा दिने त्यस्ता उम्मेदवार यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधि भएको पार्टीमा समेत आबद्ध छन् ।

अहिले एमालेबाट प्रमुखमा केशव स्थापित र कांग्रेसबाट सिर्जना सिंहले उम्मेदवारी दिएर भोट माग्दै हिँडिरहेका छन् । उनीहरूलगायत महानगरपालिकाका सबै उम्मेदवारले फोहोर व्यवपस्थापनलाई मुख्य चुनावी नारामा समेत अघि सारेको पाइएको छ ।

पाँच वर्ष आफ्नै पार्टीका जनप्रतिनिधिले महानगरको नेतृत्व सम्हाल्दै गर्दा निर्वाचनको मुखमा भने उनै उम्मेदवार फोहोरको गन्धका कारण नाक थुन्दै भोट माग्नुपर्ने स्थिति आएको छ । काठमाडौं महानगरपालिकाले भने संघीय सरकारले पासाङल्हामु राजमार्गमा समयमा नै सडक मर्मत नगर्दा स्थानीयले सडक अवरोध गर्दा समस्या आएकाले यसको जिम्मेवारी महानगरपालिका नरहेको जनाउने गरेको छ ।

यद्यपि, समस्या समाधानका लागि छलफल गर्ने, समन्वय गर्ने, संघीय सरकारलाई सचेत गराउनेलगायतका काममा महानगरपालिकाको पनि कमजोरी देखिएको छ । पासाङ ल्हामु राजमार्गमा पर्ने तीनपिप्ले खण्डमा करिब नौ वर्ष अगाडि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्ने ठेक्का पाएको थियो । करिब ६ किलोमिटर सडक विगत नौ वर्षको अवधिमा पनि ठेक्का पाएको शैलुङले पिच नै नगरेको पाइएको छ ।

राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्