Logo

अव नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै



काठमाडौं, वैशाख २८ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, काठमाडौंले जेठ ६ गतेदेखि नयाँ व्यक्तिगत श्रम स्वीकृतिको कार्य अनलाइन प्रणालीबाट मात्रै गर्नेगरी तयारी गरेको छ ।

यसअघि पुुनः श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृति गर्दै आएको कार्यालयले नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट दिने तयारी गरेको हो । सो कार्यालयका प्रमुख रमेश अर्यालले आउँदो जेठ ६ गतेदेखि अनलाइन प्रणालीबाट मात्र नयाँ व्यक्तिगत श्रम स्वीकृति दिने निर्णय भएको बताएका छन् ।

कार्यालयले २०७८ माघ २ गतेदेखि पुनः श्रम स्वीकृति र २०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र गरेसँगै कार्यालयमा दैनिक हुने भीड हटेको छ । हाल भौतिक उपस्थितिमा भइरहेको नयाँ व्यक्तिगत श्रम स्वीकृति र वैधानिकीकरण (आफ्नै पहलमा विदेशबाट भिसा र श्रम स्वीकृति लिएर आउनेहरूका लागि) मार्फत हुने श्रम स्वीकृतिको काम पनि अनलाइनबाट मात्र हुने व्यवस्थासँगै कार्यालयले पूर्ण रूपमा अनलाइन प्रणालीबाट मात्र सेवा प्रवाह गर्ने भएको छ ।

कार्यालयका प्रमुख अर्यालका अनुसार आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट छिटोछरितो रूपमा गुनासोरहित सेवा प्रदान गर्न सबै किसिमका श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गर्न लागिएको हो ।

वैधानिकीकरणमार्फत दिने गरिएको श्रम स्वीकृतिलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिकसरह श्रम स्वीकृति दिनेगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट निर्णय भएकाले अब वैधानिकीकरणमार्फत श्रम स्वीकृति नहुने तर सो प्रकृतिका काम नयाँ व्यक्तिगत श्रम स्वीकृतिबाट हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्