Logo

मतदान स्थल तीन तहको सुरक्षा घेरामाः दुई लाख साठी हजार सुरक्षाकर्मी परिचालन



काठमाडौ, बैशाख २८ । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् ।

मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् ।

स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । सुरक्षाको पहिलो घेरामा म्यादीसहित नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना खटाइएको छ ।

त्यस्तै, अति संवेदनशील मतदान स्थलमा छ म्यादी पाँच प्रहरी गरी ११, संवेदनशीलमा पाँच म्यादी चार प्रहरी गरी नौ र अन्यमा चार म्यादी तीन प्रहरी गरी सात सुरक्षाकर्मी परिचालन गरिएको छ । थप मद्दतका लागि हतियारसहित नौदेखि ११ जना सशस्त्र प्रहरीको टोली रहनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्