Logo

निर्वाचन आचारसंहिता कर्मकाण्डीय मात्र भयोः पूर्व प्रमुख आयुक्त



काठमाडौं, २८ वैशाख । निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता कर्मकाण्डीय मात्र भएकाले व्यापक रुपमा उल्लंघन भएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. यादवले भने, “निर्वाचन आचारसंहिता कर्मकाण्डीय मात्र भयो । नेता, उम्मेदवार आदि सबैले शक्ति प्रदर्शन गरिरहेका छन् । जातिवाद, नातावाद, कृपावाद, पैसावाद, भोजभतेरको चलखेल हुन्छ । गरिब तथा विपन्न परिवारका मतदातालाई डाइभर्ट गरिरहेका छन् । आचारसंहिताको व्यापक उल्लंघन भइरहँदा पनि प्रभावकारी अनुगमन भइरहेको छैन । दलीय जिम्मेवारी पनि देखिँदैन ।”

पूर्व प्रमुख आयुक्त डा. यादवले हाम्राभन्दा राम्रा उम्मेदवार चयन हुने अवस्था नदेखिएको पनि बताए । उनले भने, “स्थानीय तहको यो दोस्रो निर्वाचन संविधान र संघीयताको कार्यान्वयन र लोकतन्त्रको स्थायित्वका लागि महत्त्वपूर्ण छ । मतदातामा उत्साह छ । उम्मेदवारको संख्या बढेको छ । यो जनताको निर्वाचन हो । प्रत्यक्ष सरोकार जोडिएको विषय हो । स्थानीय तहको निर्वाचन स्वतन्त्र तवरले हुनुपर्ने हो । तर दलीय पद्धति भएकाले दलहरुकै वर्चस्व हुन्छ । स्वतन्त्रको सम्भावना कम हुन्छ । त्यसैले हाम्राभन्दा राम्रा उम्मेदवार चयन हुने अवस्था देखिएको छैन । तैपनि विवेक प्रयोग गरेर असल र इमानदार उम्मेदवारलाई चयन गर्नुपर्छ ।”

निर्वाचन आयोगले घरघरमा गएर मतदाता शिक्षा नदिएकाले मत बदर हुने पनि उनले औंल्याए । डा. यादवले भने, “यस पटक मत बदर हुने सम्भावना अत्यधिक छ । विशेष गरेर महिलाहरुले मतदाता शिक्षाको अपेक्षा गरेका थिए । प्यानलवाइज मतदान भए त ठीकै हो, क्रस भोटिङका कारण मत बदर हुने सम्भावना छ ।”

स्थानीय तहले केही काम गरे पनि जनअपेक्षा अनुसार गुणस्तरीय काम नगरेको पनि उनले बताए । डा. यादवले थपे, “कामै नभएको होइन । तर गुणस्तरीय छैन । जनअपेक्षा अनसार काम हुन सकेको छैन । शक्ति र सत्ताको दुरुपयोग भएको छ । प्रायःजसोले आफूलाई ‘आई एम द स्टेट’ ठानेका छन् । त्यसलाई आगामी दिनमा सुधार गर्दै जानुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्