Logo

कर्मचारी र सुरक्षाकर्मी सबै मतदान केन्द्रमा पुगे



काठमाडौँ,२८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी जिल्लाका सबै मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा रहेको १८२ मतदान केन्द्रमा आवश्यक सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।

उनले भने, “जिल्लामा निर्वाचनका लागि आएको सबै मतपेटिका, मतपत्रलगायत आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानकोसहित दुई हजार ३५० जना सुरक्षाकर्मी र मतदात अधिकृत, सहायक मतदान अधिकृतलगायतका गरी ९८५ जना कर्मचारी खटिएको उनको भनाइ छ ।

जिल्लामा १२३ मतदानस्थल अन्तर्गत १८२ मतदान केन्द्र छन् । १८२ जना मतदान अधिकृत र १८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन् । यसमा ३४९ जना सहयोगी कर्मचारी र १८२ जना कार्यालय सहयोगी खटिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा तीन÷तीनजना गरी ५४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताए ।

उनका अनुसार ५०० भन्दा कम मतदाता रहेको १५ मतदान केन्द्र छन् । ५०० सम्म मतदाता रहेको केन्द्रमा एकजना सहायक कर्मचारी र ५०० बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आयोगबाट आएको ५८ प्रकारका सामग्रीसहित अन्य आवयक सामग्री समेत पठाएको छ । यसअघि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई गत आइतबार तालिमसमेत प्रदान गरेको थियो । जिल्लामा एक लाख ३१ हजार ४९४ जना कूल मतदाता छन् । त्यस्तै, २२ अतिसंवेदनशील, ८० संवेदनशील तथा २१ सामान्य रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्