Logo

खटिए मतदान अधिकृतः निर्वाचन गतिविधि तीव्र



काठमाडौँ,२८ वैशाख । कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए ।“मतदान अधिकृत आ–आफ्नो केन्द्रमा पुगेर सर्वदलीय बैठकसमेत गरिसकेका छन् ।” उनले भने,“ निर्वाचनको सबै तयारी पूरा भइसकेको छ ।”यसैगरी बुधबार र बिहीबार मतदान केन्द्रमा नयाँ मतदाता र हराएको भनि निवेदन दिएकालाई मतदान परिचयपत्र वितरण गरिने निर्वाचन कार्यालयले जनाएको छ ।

“ हिजो रातिदेखि मौन अवधि सुरु भएको छ ।” उहाँले भन्नुभयो,“अहिलेसम्म मौन अवधि उल्घङ्न भएको हामीकहाँ उजुरी परेको छैन् ।”नौ वटा पालिका रहेको कञ्चनपुरमा कूल दुई लाख ९५ हजार ३५४ मतदाता रहेका छन् । त्यसैगरी कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्लाका सबै मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मी परिचालन भइसकेको बताए ।

“ भयरहित वातावरणमा वैशाख ३० गतेको निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुुनुहोस् ।” कार्यालय प्रमुख जोशीले भन्नुभयो,“ सीमा नाका बन्ददेखि मदिरा बेचबिखनसमेत निषेध गरिएको छ ।” जिल्ला सुरक्षा समितिले निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृतसँगसित समन्वय गरेर निर्वाचन सम्पन्न गराउन सक्रिय भूमिका निभाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्