Logo

“१५ हजार फिटको हिउँ छिचोलेर कसरी भोट हाल्न जाने ?”



काठमाडौं, २८ वैशाख । मानवअधिकारवादी नेता सुदीप पाठकले हुम्लामा मतदाता उपस्थित नभईकन वारेस भोट हाल्ने प्रचलन रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाठकले भने, “यति बेला म कर्णाली प्रदेशको हुम्ला जिल्लामा छु । ५४ मतदान केन्द्र रहेको हुम्लामा २५५ कर्मचारी र १,१९५ सुरक्षाकर्मी परिचालित छन् । यहाँ अपांग, गर्भवती, असक्त, वृद्धवृद्धाले इच्छाएको व्यक्तिले मतदान गरिदिने चलन रहेछ । त्यसलाई वारेस भनिँदो रहेछ । यो निर्वाचन आयोगको सर्कुलर होइन ।”

हिमाली जिल्लाका मतदातालाई भोट हाल्न जानु पनि कष्टकर रहेको उनले सुनाए । पाठकले थपे, “हुम्लामा नागरिक मतदान गर्न आतुर देखिन्छन् । तर मतदाता शिक्षा अत्यन्त कम छ । निर्वाचन आयोगले यसपटक गाउँघरमा मतदाता शिक्षा अभियान लिएर गएन । सञ्चार माध्यमबाट केही प्रचारप्रसार भए पनि राजनीतिक दलहरुले पनि वास्ता गरेनन् । त्यो भन्दा पनि ठूलो कुरा हुम्लाका जनताले १५ हजार फिट हिउँ छिचोलेर मतदान गर्न जानुपर्छ । उनीहरुका लागि जुत्ता, लुगाको अभाव छ । मतपेटिका गाउँपालिकासम्म पुर्याउन नजिकमा डेढ दिन र टाढा ४ दिन लाग्छ । खासगरी नाम्खा गाउँपालिकाको तिला, जाङ्घ, हन्जी, नेता गाउँमा त्यो समस्या छ । तर यहाँ मैले आचारसंहिता पालना भएको पाएँ । आचारसंहिता उल्लघंन गरेको जम्मा दुइटा उजुरी परेको रहेछ ।”

निर्वाचन आयोगले कर्मचारी खटाउँदा जिल्ला अस्पतालको प्रयोगशालामा जनशक्ति नै नभएको पनि उनले औंल्याए । पाठकले भने, “निर्वाचन आयोगले जिल्ला अस्पतालको ओपीडी, इमर्जेन्सी र ल्याबका ८ कर्मचारी निर्वाचनमा खटाएकाले बन्द भएका छन् । स्वास्थ्य उपचार पाउनु मानवअधिकार हो । यसबारे सरोकारवालाले संवेदनशीलता देखाउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्