Logo

पर्वतका सबै मतदानस्थलमा खटिए कर्मचारी



काठमाडौँ,२८ वैशाख । पर्वतका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिन थालेका छन् । कतिपय ठाउँमा यातायातका साधनमा त सदरमुकाम वरिपरी पैदलै हिँडेर कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा आज साँझसम्म कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरिरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । मतदानका लागि आवश्यकपर्ने मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै सामग्री लिएर मतदान केन्द्रतर्फ कर्मचारी खटिइसकेको उनले बताए ।

एक सय ४७ जना मतदान अधिकृत, १४७ सहायक मतदान अधिकृत, २९४ सहायक कर्मचारी, १४७ जना सहयोगी कर्मचारी गरी ११ सय भन्दा बढी कर्मचारी परिचालन गरिएको शर्माले जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार कुश्मामा तालिम दिइएको थियो ।

मतदानको मिति नजिकिँदै गर्दा सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । निर्वाचनको तयारी अन्तिमचरणमा पुगेको उनले बताए । मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्थाका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको प्रजिअ सापकोटाले बताए ।

निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन भएका छन् । निर्वाचन लक्षित गरेर ७४१ जना म्यादी प्रहरी नियुक्त भएका छन् । जिल्लाभर झण्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । सात वटा स्थानीय तहमा ६१ वडा रहेको पर्वतमा १ लाख २२ हजार ५० मतदाता रहेका छन् । जिल्लाभर ३१९ पदका लागि ८६५ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्