Logo

आठ दिनमा पाँच लाख बढीले छाडे काठमाडौं



काठमाडौं, बैशाख २९ । भोलि शुक्रबार हुन गइरहेको स्थानीय तह निर्वाचनमा सहभागी हुन देशका सहरी क्षेत्रमा विभिन्न पेसा व्यवसायमा आबद्ध रहेकाहरू गाउँ फर्किएका छन् ।

जनतासँगै सिधै ठोक्किने गाउँको सिंहदरबारको नेतृत्व चयनका लागि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई महत्वका साथ हेरिएको छ । निर्वाचनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा नयाँ नेतृत्व चयन हुँदै छ । स्थानीय तह निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट मात्रै विगत आठ दिनमा करिब ५ लाख व्यक्ति विभिन्न जिल्ला फर्किएका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी बालनरसिंह राणाका अनुसार २१ वैशाखदेखि २८ वैशाख साँझ ५ बजेसम्म ६६ हजार ६ सय २५ वटा विभिन्न प्रकारका सवारीसाधनबाट ४ लाख ३५ हजार ४ सय १ जना काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लाका लागि बाहिरिएका छन् । बुधबार मात्रै एकै दिन काठमाडौं उपत्यकाबाट ६७ हजार ५ सय ५४ जना बाहिरिएको डीएसपी राणाले जानकारी दिए ।

स्थानीय तह निर्वाचनमा ६५ राजनीतिक दलले सहभागिता जनाएका छन् भने ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । सबै गरी १ लाख ४५ हजार ११ जना उम्मेदवार निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।

मुलुक संघीयतामा प्रवेश गरेपछि दोस्रोपटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले मतदान गर्ने आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्