Logo

भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण तयारी तीव्र



लुुम्बिनी, वैशाख २९ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उनी लुम्बिनी आउन लागेका हुन् ।

भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुुम्बिनी आइपुुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।

टोली लुुम्बिनी पुुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

वायुसेनाको विमान सुरक्षाकर्मी र गाडी यहाँ छाडेर दिल्ली फिर्ता भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए । उनका अनुसार कूटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ सुरक्षाकर्मी र गाडी लिएर भैरहवा आएको हो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले मोदी आउने विषय तय भइसकेको जानकारी गराउँदै स्वागतका लागि तयारी अवस्थामा रहेको बताए ।

कोषका अनुसार लुम्बिनीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र एवं सभाहल नजिकै चारवटा हेलिप्याड निर्माण भइरहेका छन् । हेलिप्याड ढलान गरेर पक्की बनाइनेछ । हेलिप्याडसम्म आउजाउका लागि चार मिटर चौडा ढुङ्गा बिछ्याएर बाटो निर्माण भइरहेको छ । यसअघि पनि भारतका प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएर पनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो । यस पटक बुद्धजयन्ती पारेर आउन लागेपछि स्थानीयवासी र पर्यटन व्यवसायी खुसी भएका छन् ।

लुम्बिनी आएपछि मोदीले भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ । त्यसका लागि विहारसम्म पुग्ने बाटो निर्माणलाई विकास कोषले तीव्रता दिएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)मार्फत जर्मन स्तूप उत्तर विहार बनाउन लागेको हो ।

उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । उक्त विहारको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्