Logo

मोदीका कारण नेपालमा बढ्ने भयो धार्मिक पर्यटक



काठमाडौं, २९ वैशाख । धाराबाहिक महाभारतका मुख्यपात्र डा. नितिश भारद्वाज यसै हप्ता नेपाल आए । उनले पशुपतिनाथको दर्शनको चाहना राखे । मुक्तिनाथ दर्शनमा पनि जान चाहना राखेपछि निम्तो दिने संस्थाले त्यता लगे । भारतका हिन्दू मात्र नभई अन्य देशका हिन्दूहरुले पनि अहिले मुक्तिनाथको दर्शनको चाहना राख्न थालेका छन् । यसको कारण सन् २०१८ को भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शन हो ।

मुक्तिनाथमा मोदी युवावस्थामै पुगेका थिए । उनले त्यहाँ लामो समय बिताएको खुल्यो । प्रधानमन्त्रीको पहिलो कार्यकाल सकिनै लाग्दा मोदी मुक्तिनाथ पुगेर प्रार्थना गरे । भारतका टेलिभिजन च्यानलहरुले त्यसको प्रत्यक्ष प्रशारण गरे । भारतका अन्य सञ्चारमाध्यममा पनि यसबारे चर्चा चल्यो ।

सन् २०१९ मा लोकसभाको चुनाव आउँदै थियो । मोदीले चुनाव जित्न मुक्तिनाथमा प्रार्थना गरेको चर्चा पनि चल्यो । मोदीका कारण मुक्तिनाथले निकै प्रचार पायो । त्यसपछि भारतबाट हिन्दू धर्मालम्बीहरु पशुपतिनाथ मात्र नभई मुक्तिनाथमा पनि जानथाले ।

मोदीले सन् २०१९ को चुनाव जिते । भाजपा एक्लैले बहुमत ल्यायो । मुक्तिनाथबाट मोदीको मनोकामना पूरा भएको चर्चा चल्यो । त्यसले भारतबाट पर्यटक ह्वात्तै बढे ।

मोदीले यसपटक लुम्बिनीको भ्रमण गर्न लागेका छन् । बुद्ध पूर्णिमा पारेर मोदीले लुम्बिनीमा गर्ने भ्रमणबाट विश्वभर व्यापक प्रचार हुने भएको छ । लुम्बिनीमा पर्यटकहरु झन् बढ्ने सम्भावना बढिसकेको छ । अहिले नै लुम्बिनीबारे भारतमा व्यापक प्रचार हुन थालेको छ ।

मोदी अहिले विश्वका सबैभन्दा लोकप्रीय नेतामध्येका छन् । उनी जहाँ जान्छन् त्यहाँ चर्चा धेरै हुन्छ । मिडियाले पनि निकै चासो दिन्छ । विगतमा मुक्तिनाथको प्रचार भएजस्तै लुम्बिनीको पनि व्यापक प्रचार हुने देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्