काठमाडौं, वैशाख २९ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानमन्त्री पत्नी आरजु राणादेखि काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापित हुँदै २ सय ५ जनालाई स्पष्टीकरण सोध्यो।
तर आयोगले अहिलेसम्म निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा कसैलाई कारवाही भने गरेको छैन। रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले एक पत्रकार सम्मेलनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको बताउँदै कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए। आयोगले उनलाई स्पष्टीकरण सोधेर निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी कुनै कारबाही नगरी सफाइ दियो।
आयोगले स्पष्टीकरण सोधेर चर्चामा आउने तर आचारसंहिता उल्लंघनमा कसैलाई कारबाही नगर्ने गरेको छ। उल्टो प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनको सवालमा स्पष्टीकरण सोधिनुलाई नै कारबाही भएको बताएका छन्। ‘आयोगले स्पष्टीकरण सोध्नु पनि एककिसिमको कारबाही हो,’ उनले भने, ‘सचेत र जरिवाना गराउनु कारबाही हो। त्यो मात्रा हेरेर गरिने हो। उच्च ओहोदा र जानेबुझेका व्यक्तिलाई स्पष्टीकरण सोध्नु कारबाही हो।’
प्रमुख आयुक्त थपलियाले भने, ‘हामीले च्याप्प समातेर कारबाही गरिहाल्नु हुँदैन किनभने हामीले गरेको निर्णयउपर अदालतमा प्रश्न उठ्छ। अदातलमा प्रश्न उठ्दा पनि हामीले जित्नुपर्छ। हार्नेगरी कारबाही गर्नुभन्दा कारबाहीलाई सोचविचारका साथ गर्नुपर्ने हुन्छ।’ उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने विभिन्न राजनीतिक दल, उम्मेदवार र व्यक्तिलाई उजुरी र जानकारीका आधारमा आयोगले आचारसंहिता विपरीत भएका कार्यहरू हटाउने आदेश दिने, स्पष्टीकरण सोध्ने र सचेत गराउनेलगायत कार्यहरू भइरहेको र प्राप्त जवाफको अध्ययन र छानबिन समेत गरिरहेको जानकारी गराएका थिए। नागरिक दैनिकबाट




प्रतिक्रिया