Logo

युभेन्टसलाई हराउँदै इन्टर मिलन कोपा इटालिया च्याम्पियन



एजेन्सी । इन्टर मिलानले कोपा इटालियाको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा युभेन्टसलाई अतिरिक्त समयमा ४-२ गोलले पराजित गर्दै इन्टरले सन् २०११ पछि पहिलोपटक कोपाको उपाधि जितेको हो ।

स्टाडियो ओलम्पिकोमा भएको खेलमा इन्टरलाई जीत दिलाउन इभान पेरेसिकले दुई गोल गर्दा निकोलो बारेला र हाकन काल्गानोग्लुले एक/एक गोल थपे । युभेन्टसको लागि एलेक्स सान्ड्रो र डुसान भ्लाहोभिकले एक/एक गोल फर्काए । खेलको सातौं मिनेटमा ब्रोजोभिकको पासमा बारेलाले गोल गर्दै इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा सान्ड्रोले गोल गर्दै युभेन्टसलाई १-१ गोलको बराबरीमा ल्याए । दुई मिनेटपछि भ्लाहोभिकले गोल गर्दै युभेन्टसलाई २-१ गोलको अग्रता दिलाए । ८० औं मिनेटमा काल्हानोग्लुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई २-२ गोलको स्थितिमा ल्याएका थिए । बाँकी निर्धारित समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

अतिरिक्त समयको ९९ औं मिनेटमा पेरेसिकले गोल गर्दै इन्टरलाई ३-२ गोलको अग्रता दिलाए । यस्तै १ सय २ मिनेटमा डिमार्कोको पासमा पेरेसिकले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई ४-२ गोलको जीत दिलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्