Logo

केभिन डी ब्रुयनको चार गोलमा सिटीको शानदार जीत



एजेन्सी । बेल्जियन मिडफिल्डर केभिन डी ब्रुयनले चार गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । गएराति भएको खेलमा वोल्भ्सलाई ५-१ गोलले पराजित गर्दै सिटीले उपाधि जित्ने सम्भावनालाई बलियो बनाएको हो ।

मोलिनेक्स रंगशालामा भएको खेलमा सिटीलाई जीत दिलाउन डी ब्रुयनले चार गोल गर्दा रहिम स्टेर्लिङले एक गोल गरे । वोल्भ्सको लागि लेन्डेर डेन्डोन्करले एक गोल फर्काए । खेलको सातौं मिनेटमा बर्नार्डो सिल्भाको पासमा केभिन डी ब्रुयनले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ११ औं मिनेटमा नेटोको पासमा डेन्डोन्करले गोल गर्दै वोल्भ्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

१६ औं मिनेटमा डी ब्रुयनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ गोलको अग्रता दिलाए । २४ औं मिनेटमा स्टेर्लिङको पासमा डी ब्रुयनले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । ६० औं मिनेटमा डी ब्रुयनले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई फराकिलो जीततर्फ अगाडि बढाए । यस्तै ८४ औं मिनेटमा स्टेर्लिङले एक गोल थप्दै सिटीलाई ५-१ गोलको शानदार जीत दिलाए ।

जीतसँगै सिटी ३६ खेलबाट ८९ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्