Logo

मतदानका लागि प्रचण्डसँगै बादल र सुरेन्द्र पाण्डे पनि चितवन पुगे



काठमाडौं, २९ बैशाख । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन पुगेका हुन् ।

प्रचण्ड बुधबार चितवन पुगेका हुन। उनी गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दैछन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् ।

यस्तै, एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए ।

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४, एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्