Logo

मुस्लिम आयोगका अध्यक्ष अन्सारी रघुवीर महासेठ र जुली महतोमाथि खनिए (भिडिओसहित)



काठमाडौं, २९ बैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ, उनकी पत्नी जुली महतो र एमाले जनकपुर नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीले नियोजित रुपमा आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

जनकपुरबाट काठमाडौं ओर्लनेबित्तिकै अन्सारीले आयोगको कार्यालयमा पत्रकार सम्मेनलको आयोजना गरेर यस्तो दाबी गरेका हुन् । उनले आफूलाई बदनाम गराउन महासेठ दम्पत्तिले सुरेन्द्र भण्डारी नेतृत्वमा टोली पठाएको पनि बताए । उनले भने,‘नेकपा एमालेका नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । त्यहाँका नेता जुली महतो र रघुवीर महासेठले त्यहाँ गएर नाराबाजी गर भनेरै पठाउनुभयो ।’

आफू अस्ति (मंगलबार) जनकपुर पुगेको पनि उनले स्मरण गराए । उनले भने,‘आज १५/२० जना गुण्डाहरु म बसेको होटेलमा प्रवेश गर्नुभयो । नाराबाजी गर्नुभयो । करोडौं रुपैयाँ बाँडेको भनेर गलत आरोप लगाउनुभयो । म कुनै पार्टीको नेता तथा कार्यकर्ता होईन । म सिंगो मुस्लिम समूदायको उत्थानको लागि लागिपरेको छु, मैले आफूले पाएको जिम्मेवारी स्वतन्त्र रुपमा निर्वाह गरिरहेको छु ।’

उनले आफू जनकपुर पुग्नेबित्तिकै आफ्नो चरित्रहत्या गर्ने तयारी भएकोबारे सूचनापनि राखेको सुनाए । उनले भने,‘मलाई यो सूचना थियो । म हिजो एमालेमा आवद्ध थिएँ । सिफारिश गरेबित्तिकै साधारण सदस्यसमेत नरहनेगरि राजीनामा दिएर आयोगको अध्यक्षको जिम्मेवारी बहन गरेको थिएँ । एमालेका नगर कमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । पठाउने चाहीँ जुली महतो र रघुवीर महासेठ । उहाँहरुले भनेर नै पठाएको हो । नाराबाजी गरेर मेरो बद्नाम गर्न खोजिएको हो । म जुन पार्टीबाट सिफारिश भएर यो भूमिका छु, त्यही पार्टीका नेताबाट यस्तो काम भयो । यसबारेमा मैले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि ध्यानाकार्षण गराउनेछु । र, मानवअधि आयोगको पनि ध्यानाकार्षण गराएको छु । मलाई बदनाम गराउनेहरुलाई कारबाही होस । म जुन होटेलमा बसेको थिएँ, त्यहाँ आउनुभएको प्रहरीलाई मैले ब्यागेज पनि खोलेर देखाएको थिएँ ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

के भएको थियो ?

अन्सारीले पत्रकार सम्मेलनमार्फत उक्त घटनाबारे यसरी जानकारी गराए । मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो । त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५/२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो ।

नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो । यतिसम्म कि यहाँ करोडौं रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत हो । अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु ।

म कुनै पार्टीको नेता वा कार्यकर्ता होइन । म विशुद्ध मुस्मिल आयोगको प्रमुखको हैसियतले सिंगो मुस्लिम समुदायको उत्थान र विकासका लागि, मुस्लिम समुदायको सशक्तिकरणका लागि जुन जिम्मेवारी पाएको छु, त्यो जिम्मेवारी निर्वाह गर्दै आएको छु ।

म न कुनै पोल्टिकल पार्टीको लबिङका लागि गएको हो, न कुनै पार्टीलाई जिताउ, हराउ भन्ने अभियानमा गएको हुँ । तर, केही व्यक्तिहरूले जुन मलाई आरोप लगाउनुभयो केही समयदेखि एक किसिमले सूचना पनि पाएको थिएँ कि समिम अन्सारीको करिअर बर्बाद पारिदिन्छौं ।

म हिजो एमाले पार्टीमा आबद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ । आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुःखका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए ।

उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराउ भनेर पठाएका थिएँ । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन् । यदि मैले गलत क्रियाकलाप गरेकाे हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घेराउ गर्नुपर्थ्याे । मलाई त्यो आरोप लगाउनुपर्थ्याे । तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ । यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु ।



प्रतिक्रिया दिनुहोस्