Logo

भोजपुरको अरुण गाउँपालिकामा एमालेका उम्मेदवार घिमिरेले मत किन्न खोजेपछि लफडा



भोजपुर, २९ बैशाख । मौन अवधिमा भोजपुरको अरुण गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षको उम्मेदवार बनेका नारायणप्रसाद घिमिरेले मत किन्न खोजेपछि लफडा भएको छ ।

एमाले उम्मेदवार घिमिरेको समूहले मत प्रभावित गर्न खाजेको भन्दै अरुण सिक्रेटारका स्थानीयले उम्मेदवारलाई घेराउ गरेका छन् । अरुण गाउँपालिका वडा नम्बर ७ सिक्रेटारस्थित लिलाबहादुर खड्काको घरमा बुधबार राती ९ बजे नेकपा एमालेका गाउँपालिका अध्यक्षका उम्मेदवार घिमिरेसहितलाई स्थानीयले मौन अवधिमा गाउँमा भेटेपछि नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीयस्तरका माओवादीका कार्यकर्ताहरुले एमालेकी गाउँपालिका उपाध्यक्षकी उम्मेदवार कविता राईसमेतलाई मत मागिरहेको अवस्थामा भेटे पछि झडपको स्थित बनेको थियो ।

निर्वाचन आयोगले मौन अवधि सुरु भएपछि चुनाव लक्षित प्रचारप्रसारका कुनै पनि गतिविधि नगर्न भनेको छ । तर त्यसको विपरित मौन अवधिमा अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले रातको समयमा गाउँमा गएर वृद्धभत्ता बढाइदिने, पैसा चामल दिनेलगायतका लोभ देखाएर भोट मागेको भेटिएपछि माओवादी कार्यकर्ताले उनीहरुलाई गाउँबाट तत्काल निस्किन आग्रह गरेका थिए । वास्तविकता बुझ्न गएका स्थानीयसहितका माओवादी कार्यकर्ताहरुलाई उनीहरुले धम्क्याएको आरोप लगाएका छन् ।

आफूहरुले मौनवधीमा यस्तो कार्य गर्न नपाइने र यो निर्वाचन आचारसंहिता विपरित हुने भनी सम्झाउँदा सक्छौ भने तिमीहरु पनि गाउँगाउँ जाऊ तर हामीलाई बाधा पुर्याए अवस्था राम्रो नहुने भन्दै धम्की दिएको स्थानीयले बताएका छन् । संहिता विपरित काम नगरौं भन्दा उल्टै धम्क्याउनु गलत भएको उनीहरुको भनाई छ ।

माओवादी केन्द्रको पकड क्षेत्र सिक्रेटारमा स्थानीयलाई नगद समेत वितरण भईरहेको भन्ने सूचनाका आधारमा आफुहरु त्यहाँ पुगेको मोवादीका स्थानीय नेताले बताए । उनीहरुको साथमा रहेको झेला नियन्त्रणमा लिएर जाँचबुझ गर्दा सामान्य खर्च रकम मात्र भेटिए पछि तत्काल फर्किने सहमतिमा उनीहरुलाई छाडिएको स्थानीयले बताएका छन् । निर्वाचन आयोगको आचार संहिता विपरीत पैसामा मत किन्न खोज्ने अरुण गाउँपालिकाको अध्यक्ष उम्मेदवार घिमिरेसहितलाई कुनै कारबाही भएको छैन ।

 



प्रतिक्रिया दिनुहोस्