Logo

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्छन्ः कूटनीतिज्ञ उपाध्याय



काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्ने ठोकुवा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ उपाध्यायले भने, “मोदीको लुम्बिनी भ्रमढा गर्ने चाहना पहिलेदेखिकै थियो । तर हामीले संयोजन गर्न सकेका थिएनौं । यस पटक नेपाल सरकारको तयारी राम्रै छ । यसले पर्यटनमा नयाँ आयाम थपिन्छ । मोदी मुक्तिनाथ गएपछि पर्यटक बढे । अब लुम्बिनीमा पनि पर्यटक बढ्छन् ।”
उपाध्यायले मोदी भैरहवा विमानस्थलमा सोझै उत्रिन सक्दा अझ राम्रो सन्देश जाने औंल्याए । उनले भने, “राजनीतिमा कूटनीतिक पहल महत्त्वपूर्ण हुन्छ । भैरहवा विमानस्थलमा सोझै आउँदा राम्रो हुन्थ्यो । तर उहाँ जेट विमानमा कुशीनगर आएर त्यहाँबाट हेलिकप्टरमा आउने कुरा छ । त्यसमा हाम्रो पहल पुगेन ।”
उपाध्यायले मोदीको लुम्बिनी भ्रमण महत्त्वपूर्ण रहेको पनि औंल्याए । उनले भने, “विश्व शान्तिका लागि लुम्बिनीको नामै काफी छ । हिन्दूको चार धाम, क्रिस्चियनको जेरुसेलम, मुस्लिमको मक्का मदिना भनेजस्तै लुम्बिनी बौद्धमार्गी र शान्तिकामीका लागि बुद्धको पवित्र जन्मस्थल हो । मोदीको भ्रमणले धार्मिक पर्यटनमा बढावा दिनेछ ।”

 



प्रतिक्रिया दिनुहोस्