Logo

सात दिनपछि गठबन्धनमा संकट आउँछः महेश बस्नेत



काठमाडौं, ३१ वैशाख । नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले स्थानीय तहको निर्वाचन लगत्तै सत्ता गठबन्धनमा संकट आउने दाबी गरेका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “स्थानीय तहको निर्वाचन भनेको बार वा इन्जियरिङ एसोसिएनको चुनाव होइन । कांग्रेसको छाता ओढेर पाँच दल आधा जिउ भिजिसकेका छन् । गठबन्धनभित्र मत बदर हुने सम्भावना ज्यादा छ । इमानदारीका साथ समझदारी पालना भएको पनि देखिँदैन । गठबन्धनमा गडबडी आएको संकेत प्रचण्डले मतपत्र पट्याउन नजानेको नाटक गर्नु र बाबुरामले मतको संकेत फेसबुकमा राख्नुले जनाइसकेको छ । एमालेले कम्तीमा ४ वटा महानगर र ७ वटा उपमहानगर जितेपछि यिनीहरु एकअर्कालाई दोषारोपण गर्न थाल्छन् । सात दिनपछि गठबन्धनमा संकट आउँछ । प्रचण्डले भरतपुरमा हार्ने संकेत आउनासाथ महासंकट आउँछ भन्नुभएकै छ ।”
गठबन्धनले देशभित्र कुनै लहर सिर्जना गर्न नसकेको पनि उनले बताए । बस्नेतले भने, “जो घाइते छ, बैसाखी उसैले टेक्ने हो । एमाले बलियो भएका ठाउँमा उसले गठबन्धन गरे पनि कुनै पनि लहर सिर्जना गर्न सकेन । कांग्रेसले तीन वटा महानगरमा उम्मेदवार उठाएकाले तीनवटा जित्ने भनेको छ । एमालेले ६ वटामै उठाएको छ । ६ वटैमा जित्ने सम्भावना छ ।”
काठमाडौं महानगरपालिकामा एमालेले नै जित्ने उनको ठोकुवा छ । बस्नेतले भने, “केही प्रतिशत मत जहिल्यै तरल हुन्छ । त्यो तरल भोट बालेन शाहलाई गयो होला । गठबन्धनको उम्मेदवार भईकन पनि सिर्जना सिंहले लहर ल्याउन सक्नुभएन । एमालेमा मेयरको टिकटको दाबी गर्ने रामवीर मानन्धरले प्राविधिक ढंगको व्याख्या गरिरहनुभएको छ, त्यसबाट मतदाता प्रभावित हुने कुरा आउँदैन । १० र १० जोड्दा २० नहुन सक्छ । ८ पनि हुन सक्छ, ३० पनि हुन सक्छ ।”
एमाले नेता बस्नेतले महानगरपालिकामा एमालेलाई कसैले रोक्न नसक्ने पनि उद्घोष गरे । उनले भने, “भरतपुरमा अघिलो पटक एमालेले जितेको हो । मतपत्र च्यात्ने र बत्ती निभाउने आदि गरे । मेयर भएर ४ हजार बढाउनुभयो होला रेनु दाहालले । जगन्नाथ पौडेलले १५ हजारमाथि भोट नघाउनुहुन्छ । ५ हजार मात्र पुर्याए पनि एमालेले जित्छ । पोखरामा मतदाताले नेकपा एसको चिह्न नै पत्ता लगाएनन् । विराटनगर र ललितपुरमा टफ प्रतिस्पर्धा छ । एमालेलाई अव कसैले रोक्न सक्दैनन् ।”
गठबन्धन टुट्नासाथ कांग्रेसले संसद् विघटन गर्न सक्ने पनि उनले औंल्याए । बस्नेतले भने, “भरतपुर, पोखरा र काठमाडौं हार्दा एकले अर्कालाई दोष लगाउने स्थिति बन्छ । मनोमालिन्य बढ्दै जाँदा सरकारको नीति र कार्यक्रम नै फेल हुन सक्छ । कांग्रेसले संसद् विघटन गरेर चुनावमा होमिने अवस्था आउन सक्छ । त्यस अवस्थामा एमाले संसद् पुनःस्थापनाका लागि अदालत जाने पक्षमा छैन । चुनाव हुने अवस्थामा प्रचण्डको पार्टी फुट्छ, माधव नेपालको मानिसहरु एमालेमै फर्कन्छन् ।”
साथै उनले आचारसंहिताको पालनामा कडाई गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद पनि दिए । उनले भने, “शीर्ष नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने हिम्मत निर्वाचन आयोगले गरेकै हो । राम्रो गरेको कुरालाई सराहना पनि गर्नुपर्छ । तर मतपत्रको रंग बदल्ने कुरामा आयोगको ध्यान नपुगेकै हो ।”



प्रतिक्रिया दिनुहोस्