Logo

स्वतन्त्र उम्मेदवारहरुले ल्याए तरङ्ग



काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको पछिल्लो परिणामले स्वतन्त्र उम्मेदवारहरुले विगतको तुलनामा बढी स्थानमा जीत हासिल गर्ने संकेतहरु देखिन थालेको छ । प्रारम्भिक परिणाममा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
बालेनले हस्ती मानिएका गठबन्धनकी सृजना सिंह र एमालेका केशव स्थापितलाई पछि पारिरहेका छन् ।

धनगढीमा उपमहानगरपालिकामा गोपाल हमालको अग्रता कायम छ । उनलाई यसअघि नै मुख्य प्रतिष्पर्धीको रुपमा हेरिएको थियो ।

धरान उपमहानरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडि देखिएका छन् । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह फराकिलो अन्तरले अगाडि छन् । जनकपुरमा गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह उम्मेदवार बनेपछि मनोज बागी उम्मेदवार बनेका थिए ।

धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । उनको पछाडि एमाले उम्मेदवार अशोककुमार ब्याञ्जु छन् ।
बर्दिवास नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री अगाडि देखिएका छन् । उनलाई एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले पछ्याइरहेका छन् । जुम्लाको चन्दनाथ नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार अगाडि छन् ।

यसरी देशभर स्वतन्त्र उम्मेदवारहरुले अप्रत्याशित मत पनि ल्याइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्