Logo

झारल र नाउरको सिकार



काठमाडौं,जेठ १। विभिन्न मुलुकका सिकारीले यस पटक नेपालमा १० वटा नाउर र झारलको सिकार गरेका छन् । सिकार गर्ने उद्देश्यसाथ स्थापना भएको नेपालको ढोरपाटन सिकार आरक्षमा सिकारीहरूले अनुमति लिएर सिकार गरेका हुन् । कानुनले नेपाली नागरिकलाई सिकार गर्न सक्ने व्यवस्था गरे पनि निकै खर्चिलो हुने हुँदा हालसम्म नेपालीले सिकार भने गरेको रेकर्ड छैन ।

फागुनदेखि वैशाखसम्मको सिकारी मौसममा सिकार गर्ने अनुमति लिएका पाँच जनाले भने सिकार मार्न सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट नौवटा नाउर र छवटा झारलको सिकार गर्न अनुमति दिइएको थियो । तीमध्ये १० जनाले मात्र सिकार मार्न सफल भएको विभागले जनाएको छ ।

सिकार गर्न सफल सिकारीले नेपालबाट आफ्नो देशमा ती वन्यजन्तुको छाला र सिङ आफ्नो मुलुक लान पाउने व्यवस्था छ । विभागका व्यवस्थापन अधिकृत अशोक भण्डारीका अनुसार सिकारीले मारेको सिकारको छाला र सिङलाई आफ्नो मुलुक लैजान पाउने गरी साइटिसले अनुमति दिनुपर्ने हुन्छ । नेपालमा साइटिसको फोकल निकाय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग हो । यस अवधिमा सिकार गर्न अनुमति लिएकामध्ये अमेरिका, डेनमार्क, हङ्गेरी, नर्वेका एकरएक जना नागरिकले सिकार मार्न सफल भएका छन् ।

निकै उच्च भूूभागमा गएर सिकार गर्नुपर्ने भएकाले एक सिकारीसँग कम्तीमा २० जना सहयोगी हुने गर्छन् । सिकारी जङ्गलमै बास बसी र खाना खानुु पर्ने भएकाले यो निकै खर्चिलो पर्न जान्छ ।

त्यसैगरी फ्रान्स र मेक्सिकोका तीनरतीन जना सिकारीले सिकार मारेका छन् । यस पटक सिकारका लागि विभागले बढाबढ रकममा सिकार गर्ने अनुमतिका सिकार खोलेको थियो । त्यसमा नेपालका तीनवटा फर्मले १५ जना सिकारीलाई सिकार गर्ने गरी अनुमति लिएका थिए । विभागका सहायक व्यवस्थापन अधिकृत गोपाल खनालका अनुसार ढोरपाटनको दौगाडी, सुनदह, घुस्तङ, बासे, सेङलगायतका क्षेत्रमा सिकार गर्न अनुमति दिइएको थियो ।

अनुमति लिएका सिकारीले बच्चा र गर्भवती वन्यजन्तुको सिकार गर्न नपाइने कानुनी व्यवस्था छ । नाउर प्रजातिको सिकारका लागि अनुमति लिँदा प्रतिनाउर तीन लाख एक हजार रुपियाँदेखि १४ लाख २५ हजार रुपियाँसम्म राजस्व तिरेका छन् । नौवटा नाउरको सिकारका लागि अनुमति लिँदा ८९ लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot