Logo

स्थानीय तहको चुनावमा पैसाको चलखेल भयोः लक्ष्मणलाल कर्ण



काठमाडौं, जेठ १ । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले पर्यटन क्षेत्रमा सघाउ पुर्याउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता कर्णले भने, “हामी के मानेमा सौभाग्यशाली छौं भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीमा लुम्बिनी आउन लाग्नुभएको हो । यो नरेन्द्र मोदीको धार्मिक यात्रा हो । यसले नेपाल बुद्धको जन्मभूमि हो भन्ने प्रचार हुन्छ । संसारभरि हाम्रो पहिचान हुन्छ, पर्यटक बढ्छन् । हामीले बुद्धको प्रचार गरी पर्यटनको फाइदा उठाउन सक्छौं ।”
अर्को प्रसंगमा उनले स्थानीय तहको चुनावमा पैसाको चलखेल भएको आरोप पनि लगाए । कर्णले भने, “नेकपा एमालेले कहीं कहीं बाहेक सबै ठाउँमा एक्लै चुनाव लडेको छ । त्यसैले पाँच दल र एक दलको परिणाम फरक भएको हो । विगतका जनप्रतिनिधिले पाँच वर्ष करोडौं कमाए । पैसाको चलखेल भयो । त्यसैले हामीजस्ता नयाँ मान्छेलाई चुनाव लड्न धेरै गाह्रो भयो । सरकारले प्रत्येक गाउँमा प्रहरी खटाएको छ । तिनीहरुलाई कति ठाउँमा भोजभतेर भयो, कति क्विन्टल मासु खरिद भएको छ, कहाँ कहाँ पैसा बाँडिरहेको छ । थाहा हुँदैन ? यो लोकतन्त्रका लागि राम्रो होइन ।”
स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अपेक्षाकृत जित निकाल्न नसके पनि एजेन्डा असफल भएको मान्न नसकिने पनि उनले बताए । कर्णले भने, “हामीले सबै ठाउँमा हारेको होइन । हामी असफल भएका पनि होइनौं । राजनीतिक यात्रामा कहिले गति धिमा हुन्छ, कहिले तीव्र हुन्छ । तर हामीसमयसापेक्ष बढिरहेका छौं । हामी मधेस र जनजातिको पहिचान र सम्मानका लागि लडेका आन्दोलनकारी हौं । हामीले एउटा निर्वाचनबाट निराश हुनु पर्दैन । यो निर्वाचनको समीक्षा गरेर आगामी दिनमा कसरी अघि बढ्ने भन्ने निधो हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्