Logo

‘बुद्ध वाज वर्न इन नेपाल’ भन्ने मिसनबारे



मोहन लामा रुम्बा:  नेकपा माओवादीको सरकारमा संस्कृति तथा पर्यटन मन्त्री गोपाल किरातीले बुद्ध जन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचारप्रसार गराउन भन्दै एकपटक बिश्व चर्चित कुंग फु मास्टर तथा अभिनेता ज्याकि च्यान, जु दङयू, टोनी लङ्क, कुनहिङ सुधारत र श्रीलङ्काका सभामुखलाई सदभावना दूत बनाउने भनेर पत्रकार सम्मेलन गर्दै घोषणा गरेको थियो, त्यतिबेला भारतीय कलाकारद्वय साहरूख खान र अभिनेत्री रेखा सित पनि सदभावना दूतका लागि सहमति माग गरिएको उनले बताइरहेका थिए। बुद्ध जन्मभूमि लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार होस् र बढी भन्दा बढी नेपालमा पर्यटन वृद्धि होस् भनेर उनलेे गर्न खोजेको यो प्रयास त्यतिबेला विभिन्न कारणले यो योजना सफल हुन सकेन।
आज भारतको प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मभूमि लुम्बिनीको दर्शन गर्न आउँदै हुनुहुन्छ, उहाँको यो ऐतिहासिक भ्रमण कुनै ज्याकी च्यान सहारुख खान भन्दा धेरै अर्थमा ठूलो महत्त्व राख्छ, हामी नेपालीहरुको लागि पर्यटनको दृस्ठिकोणले मात्रै होइन उहाँको यो भ्रमणले धेरै अर्थमा बहुआयमिक महत्त्व हुने छ।
नेपालमा लामो समयदेखि Buddha was born in Nepal भन्दै एउटा मिसन चलाउँदै आइरहेका मिसनेरीहरु हामीलाई अझैसम्म पनि बुद्ध कहाँ जन्मेको भनेर ब्यानर बोकाएर दौडाउने गर्दै छ जसलाई यसपटकको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले समुचित जवाफ् पुग्ने छ।
अनौठो लाग्ने कुरा के हो भने बुद्ध नेपालमा जन्मेको भनेर बेला बेलामा कराएर हिंड्न करोडौं खर्च दिने उक्त अदृश्य संस्थाहरुले यही बुद्ध भूमि नेपालमा लाखौं बौद्ध धर्मावलम्बीहरु मासिदै गएको बारेमा भने चाहिँ चुँ सम्म बोल्ने गर्दैनन् किन होला ? यिनीहरूको एकमात्र उद्देश्य ” बुद्ध नेपालमा जन्मेको” भन्दै हामीलाई सुगा रटाई गर्दै उफारी रहनु मात्रै देखिन्छ यसको सिधा अर्थ हो नेपालीहरुमा छिमेकी भारत प्रति नकारात्मक भाव जागिरहोस !!
संयुक्त राष्ट्रसंघले बुद्ध जन्मभुमि लुम्बिनीको उत्खनन गरेर प्रमाणित गरेको छ, युनेस्को द्वारा अनुगमन संरक्षण भैरहेको छ तर हामी नेपालीहरु भने बुद्ध कहाँ जन्मेको ? भन्दै साठिपिकेट बोकेर दौडन्छौ यो भन्दा हास्यास्पद अरु केही हुनसक्छ ? निर्विवाद बुद्ध जन्मभूमिको विवादमा अरुले होइन हामी आफैंले जानीनजानी विवाद गर्दै छौं। आजको युगमा बिश्वका करोडौं बौद्ध अनुयायीलाई बुद्ध कहाँ जन्मेको भनेर रटाउन खोज्नु भनेको मुस्लिमलाई हजरत मुहम्मद र इसाईलाई येशु कहाँ जन्मेको ? भनेर घोकाउन खोज्नु एकै जस्तो हो।
त्यसैले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको यो ऐतिहासिक भ्रमणले “Buddha was born in Nepal” भन्दै लामो समयदेखि नेपालमा परियोजना चलाइरहेका केही अन्तर्राष्ट्रिय संस्था र त्यसमा जागिर खाइरहेका कर्मचारीहरुलाई भने ठूलो धक्का पुग्ने भएको छ, एउटा अन्तर्राष्ट्रिय जगतमा चर्चित भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बुद्ध जन्मस्थलको दर्शन भ्रमणमा आउनु भनेको बुद्ध कहाँ जन्मेको हो भनेर दिने समाचार नै प्रमाण बन्न पुग्छ र हाम्रो लुम्बिनीको निशुल्क बिज्ञापन !
हामीले अरबौं रुपैयाँ खर्च गरेर बिज्ञापन गर्नुपर्नेमा सित्तैमा लुम्बिनीको विश्वव्यापी समाचार प्रशारण मार्फत बिज्ञापन हुँदै छ यस बाट हामीले के कसरी पर्यटन क्षेत्रमा लाभांश लिन सक्छौं भ्रमणलाई बढी भन्दा बढी अन्तर्राष्ट्रिय जगतमा कसरी प्रचारप्रसार गर्न सक्छौं भनेर सम्बन्धित पर्यटन क्षेत्रका व्यवसायी सरकारी अधिकारीहरु यससम्बन्धी गृहकार्यमा जुट्न पर्यो।
नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणको लगत्तै ह्वात्तै बढेको धार्मिक पर्यटकहरुको घुइँचोले मुक्तिनाथ आसपास अव्यवस्थित भएर व्यथिती बढेको थियो त्यसलाई मध्यनजर गर्दै लुम्बिनीको यसपटकको भ्रमण पश्चात् हुने आगन्तुक दर्शनार्थीहरुलाई कमसेकम लुम्बिनीमा आएको पर्यटकलाई वरिपरिको बुद्ध तिर्थस्थल भ्रमण गराउन सक्ने वातावरण तयार गर्न सके उत्तम हुने थियो।
यहाँनेर एउटा कुराको जानकारी पनि राखौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेला बेलामा हमारे बुद्ध भूमि भारत भन्दा धेरै नेपालीहरुलाई नपचेको देखिन्छ तर त्यो अल्पज्ञान् हो, भारत नेपाल दुबै बुद्ध भूमि हुन्, ऐतिहासिक साक्यमुनी बुद्ध नेपालमा जन्मेको हो भने पौराणिक धेरै बुद्धहरु नेपाल र भारत दुबै देशमा जन्मेको थियो उदाहरणका लागि पौराणिक काश्यप बुद्ध उत्तर प्रदेशको टंडवा भन्ने गाउँमा जन्मेको हुन् भने नेपालमा कोणागमन(कनकमुनी) बुद्ध निगलिहवामा जन्मेको थियो यस्तो धेरै पौराणिक बुद्धहरु छन् जुन दुबै तर्फ जन्मेका छन् दुबै तर्फ पवित्र तिर्थ स्थलहरु छन् त्यसैले भारतले बुद्ध भुमि भनेर गर्व गर्दा हामीले स्वाभाविक रूपमा लिनुपर्छ बरु अन्तर्राष्ट्रिय बौद्ध पर्यटकहरु ९०% प्रतिशत भारत पुग्छन् त्यसलाई कसरी नेपाल तर्फ ल्याउने, आएको पर्यटकहरु पनि एकदिने लुम्बिनीको भ्रमण गरेर तुरुन्तै फर्किने गर्ने गरेकोले नेपालले आर्थिक रूपमा लाभान्वित हुन सकिरहेको छैन यसलाई कसरी सुल्झाउने तर्फ सम्बन्धित क्षेत्रमा संलग्न पात्रहरूले दीर्घकालीन योजना तयारीमा जुट्नुपर्छ।
२५६६ औं बुद्ध जयन्तीको पावन अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण नेपाल भारतको इतिहासमा नै पहिलोपटक हुँदै छ, यसलाई राजनीतिक कुटनैतिक दृस्ठिकोणबाट नहेरी बिसुद्ध हामी सनातनीहरुको साझा तिर्थ स्थलको गरिमा यसको महत्त्व बिश्वमा उजागर हुन गइरहेको छ यो हामी सबै नेपालीको लागि ठूलो गौरवको विषय हो तर दु:खद कुरा नेपालको मिडिया क्षेत्र जो हरबखत सलमान खानको बिबाह कहिले हुन्छ ? भारती सिंहले भर्खरै बच्चा ब्यायो भन्दै समाचार दिने मिडियाहरू अनि Buddha was born in Nepal भन्दै उफ्रेर हिंड्ने पात्रहरू यतिबेला सबै चुपचाप छन् त किन होला ?-मोहन लामा रुम्बाको फेसबुक पेजबाट


प्रतिक्रिया दिनुहोस्