Logo

सम्पदा, संस्कृति संरक्षण र विकास खोज्दै हिँड्ने मन्त्री



काठमाडौं । देशभर स्थानीय तहको चुनावले रौनकता छाएको छ । सबैको ध्यान स्थानीय तहको चुनाव र मतपरिणाममै केन्द्रित देखिन्छ । संघीय सरकार र प्रदेशले नयाँ बजेट ल्याउने बेलामा भएको स्थानीय तहको चुनावले सबै मन्त्रीहरू अल्मलिएका छन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ भने काठमाडौं उपत्यकाका संस्कृति, सम्पदा, सभ्यता र मठ मन्दिरको संरक्षणमा लागेका छन् । आगामी बजेटमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण योजनाको अवलोकन गर्न मन्त्री श्रेष्ठ आफैं फिल्डमा जान थालेका छन् ।

संस्कृति, संस्कार, सभ्यता र सम्पदाको धनी काठमाडौं उपत्यकालाई प्रवर्द्धन गर्ने किसिमका कामहरुको विवरण लिन मन्त्री श्रेष्ठ महत्वपूर्ण ठाउँको भ्रमण गर्दै आएका छन् । आजै मात्र उनले काठमाडौंको शंकरापुर नगरपालिका साँखुस्थित बज्रयोगिनी मन्दिर क्षेत्रको संरक्षण तथा प्रवर्द्धनका लागि के गर्न सकिन्छ भनेर सरोकारवालाहरुसँग छलपल गरेका छन् । बागमती प्रदेशभित्र संस्कृति र पर्यटकीय सम्भावना बोकेका स्थलहरूको भ्रमण गरेर आगामी वर्षको बजेट ल्याउन खोजेका मन्त्री श्रेष्ठ आज साँखुको बज्रयोगिनी मन्दिर पुगका हुन् ।

बज्रयोगिनी परिसरमा निर्माणाधिन अवस्थामा रहेको पाटी भवन र सुन्दर पार्क निर्माणका लागि उनले उक्त क्षेत्रको विषयमा जानकारी लिएका हुन् । साँखुको प्रख्यात बज्रयोगिनी जात्रा मनाउने ठाउँलाई व्यवस्थित गर्ने विषयमा पनि मन्त्री श्रेष्ठले चासो दिएका छन् ।

संस्कृति तथा पर्यटन मन्त्रालयमार्फत बज्रयोगिनी मन्दिर परिसरमा पार्क निर्माण, देवी भवन (दे:छेॅ)निर्माणलगायतका कामका लागि दिएको बजेट अनुसारको काम भए/ नभएको विषयमा समेत मन्त्री श्रेष्ठले जानकारी लिएका छन् । बज्रयोगिनी मन्दिर परिसरमा भइरहेका ती कामको पूर्णताका लागि थप रकम पनि बिनियोजन गरिने उनको प्रतिबद्धता छ ।



प्रतिक्रिया दिनुहोस्