Logo

जीवन बीमा कम्पनीको नाफा घट्यो



काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीको औसत नाफा पोहोरको तेस्रो त्रैमासिकको तुलनामा ३० प्रतिशतले घटेको छ ।

कम्पनीहरूको बीमांकीय मूल्यांकन गर्नुअघिको नाफामा ह्रास आएको हो । चालू आवको चैत मसान्तसम्म १९ जीवन बीमा कम्पनीको कुल नाफा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ छ । यो अघिल्लो आवको सोही अवधिको दाँजोमा ९४ करोड ४६ लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ३ अर्ब १६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए ।

बीमा कम्पनीहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बीमांकीय मूल्यांकनपछि उनीहरूको नाफा बढ्नेछ । बीमांकीय मूल्यांकन गर्दा जीवन बीमाकोषबाट केही रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यसले नाफाको आकार बढाउन मद्दत गर्छ ।

चालू आवको ९ महीनामा ८ कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको दाँजोमा उच्च दरमा घटेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल), नेशनल, प्रभु, प्राइमलाइफ, सूर्या, युनियन र मेटलाइफको नाफा घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भने सो अवधिमा १९ करोड ४५ लाख रुपैयाँले घाटा नै बेहोर्नु परेको छ । अघिल्लो आवको ९ महीनासँग तुलना गर्दा नेपाल लाइफको नाफा १३८ प्रतिशतले ऋणात्मक हो । गत आवसम्म नेपाल लाइफ नाफा कमाउने पहिलो नम्बरको कम्पनी थियो । चुक्ता पूँजी, जीवन बीमाकोष, व्यवसायको आकारलगायत आधारमा नेपाल लाइफ सबैभन्दा ठूलो जीवन बीमा कम्पनी पनि हो ।

११ ओटा कम्पनीको नाफा भने पोहोरको तुलनामा बढेको छ । उक्त अवधिमा कम्पनीमा ज्योति, रिलायन्स, सानिमा, सन नेपाल, गुराँस लाइफले दोहोरो अंकले नाफा बढाएका छन् । महालक्ष्मी, रिलायबल नेपाल, राष्ट्रिय बीमा संस्थान, आईएमई, एशियन र सिटिजन लाइफ इन्स्योरेन्सको नाफा वृद्धिदर भने एकल अंकमा छ ।

शेयरबजार घट्दा बीमा कम्पनीहरूको नाफा घटेको आजको आर्थिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्