Logo

मोदी लुम्बिनी आउँदै, यस्तो छ कार्यक्रम तालिका



काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन् । २५६६ बुद्ध जयन्तीको दिन पारेर मोदी लुम्बिनी आउन लागेका हुन् ।

मोदीले लुम्बिनी आउनु अघि हिजो नै एक वक्तव्य जारी गरेका थिए । उनले नेपालसँग भारतको सम्बन्धलाई अतुलनीय भनेका छन् ।

भारत र नेपालबीच पौराणिक सभ्यता देखि जनस्तरको सम्बन्ध र सम्पर्क समेत रहँदै आएको मोदीको वक्तव्यमा भनिएको छ । उनले भनेका छन्,‘नेपालसँग हाम्रो सम्बन्ध अतुलनीय छ । भारत र नेपालबीच पौराणिक सभ्यता देखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको छ ।’

आफ्नो भ्रमणले दुई देशबीचको शताब्दीयौं देखि झाङ्गिदै आएको सम्बन्धलाई थप गहिरो बनाउने आशा व्यक्त गरेका छन् । मोदीले भ्रमणका बेला मायादेवी दर्शन गर्ने भन्दै त्यसका लागि निकै इच्छुक भएको बताएका छन् ।

मोदी नेपाली समय अनुसार विहान १० बजेर ५५ मिनेटमा लुम्बिनी स्थित हेलिप्याडमा हेलिकोप्टरबाट ल्यान्ड गर्नेछन् । उनी ११ बजेर १५ मिनेटमा मायादेवी मन्दिर पुग्नेछन् । ११ बजेर ४५ मिनेटमा भूमि पूजा गर्नेछन् ।

साँढे १२ बजे मोदी पवन इन्टरनेशनल होटल पुग्नेछन् । १२ बजेर ३५ मिनेटमा दुवै देशको परराष्ट्रका अधिकारीसँग भेटवार्ता हुनेछ । १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री शेरबहादुर देउवासँग मोदीको द्वीपक्षीय भेटवार्ता हुनेछ ।

दिउँसो १ बजे डेलिगेशनबीच भेटवार्ता हुनेछ । पौने २ बजे मोदी प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन् । ४ बजे मोदीले विशिष्ट अतिथिहरुसँग भेट गर्नेछन् । पौने ४ बजे बुद्ध जयन्ती समारोहलाई लुम्बिनीमा सम्बोधन गर्नेछन् । ५ बजेर १५ मिनेटमा मोदी भारतीय सेनाको हेलिकोप्टरबाट कुशिनगर प्रस्थान गर्नेछन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot