Logo

भारतीय प्रधानमन्त्री मोदी १०ः३० बजे वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आउँदै



काठमाडौं, जेठ २ । आज २५६६ औं बुद्ध जयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउँदैछन्। लुम्बिनीमा आयोजना हुने बुद्धजयन्ती मूल समारोहलाइ प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दैछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आउन लागेका हुन्।

मोदीको स्वागतका लागि प्रधानमन्त्री देउवा सँगै गृहमन्त्री बालकृष्ण खाँण,परराष्ट्रमन्त्री नारायण खड्का,भौतिक पूर्वाधार मन्त्री रेनुकुमारी यादव,पर्यटन मन्त्री प्रेमबहादुर आले सहितका मन्त्रीहरू,सुरक्षा अंगका प्रमुख आइतबार साँझ नै लुम्बिनी पुगेका छन् ।

मोदी बिहान करिब १०ः३० बजे वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी पुग्नेछन्। मोदी भारतको उत्तर प्रदेश स्थित कुशीनगर (बुद्ध परिनिर्वाण तीर्थ)बाट हेलिकप्टरद्धारा सिधै लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ ।

मोदी सहित भारतीय उच्च पदस्थ अधिकारीहरु चारवटा हेलिकप्टरमा लुम्बिनी आउने कार्यक्रम छ। मोदीको सुरक्षाकालागि स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी) को टोली पाँच दिन अघि नै लुम्बिनी पुगिसकेको छ ।

मोदीले लुम्बिनीमा करिब ४ घण्टा बिताउने छन् । लुम्बिनी विकास कोषका अनुसार मोदीले मायादेवि मन्दिरको दर्शन गरी मन्दिर भित्र रहेको मार्कर स्टोनमा पुष्प अर्पण गरी पुजा गर्ने,पुष्करणि पोखरीको अवलोकन सहित अशोक स्तम्भ अगाडि दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी मोदीले संयुक्त रुपमा दिप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको। त्यसलगत्तै मोदीले मायादेवि मन्दिर परिषरमा रहेको बोधीबृक्षमा जल अर्पण गरी आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने छन । त्यस्तै, भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) द्धारा निर्माण गरीने बौद्ध बिहारको भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले शिलन्यास गर्ने कार्यक्रम छ।

लुम्बिनीको होटल पवनमा केही समय बिश्राम पछि प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदी बिच दुइपक्षीय मामिलामा छोटो भेटवार्ताको कार्यक्रम तय भएको छ।

दिउँसो २ बजे लुम्बिनी स्थित नवनिर्मित सभाहलमा आयोजना गरीएको २५६६ औं बुद्ध जयन्ती मुल समारोहमा प्रधानमन्त्री देउवासंगै मोदीले सरीक भइ सम्बोधन गर्ने कार्यक्रम छ। मोदी ३ बजे लुम्बिनीबाट फकर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्