Logo

केपी ओलीले एमाले एक्लै लडेको भ्रम दिनुभएको मात्र हो, गठबन्धनको तालमेलभन्दा हल्ला धेरै भयोः विश्वप्रकाश शर्मा



काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धन दलहरुले देशभरि तालमेल गरेको भ्रम दिएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री शर्माले भने, “पहिलो कुरा नेपाली कांग्रेस लगायत पाँच दल ७५३ वटै पालिकामा एमालेविरुद्ध एक भएर लडेको होइन । गठबन्धन दलहरुकै प्रमुख पदका १६०० उम्मेदवार छन् । कांग्रेस ६३४ प्रमुख पदमा मात्र लडेको छ । ११९ पालिका गठबन्धन दललाई छाडेको छ । धेरै ठाउँमा नेपाली कांग्रेसले एक्लै लडेर शानदारसँग जितेको छ । नेकपा एमाले पनि सबै पालिकामा एक्लै लडेको होइन । कतै मधेसी दल, कतै राप्रपा, कतै कमल थापा त कतै कांग्रेससँग मिलेर लडेको छ । केपी ओलीले एक्लै लडेको भ्रम दिनुभएको मात्र हो । त्यसैले गठबन्धनको आवश्यकताभन्दा धेरै हल्ला भयो ।”

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने पनि उनले दाबी गरे । शर्माले थपे, “नेपाली कांग्रेसको २०७४ को मत परिणामलाई करेक्सन गर्दै पहिलो दल भएर आउँदै छ । जति ठाउँमा गठबन्धन भएको छ, त्यति ठाउँमा राम्रो परिणाम आएको छ । नेपाली कांग्रेसले ३२ वटा पालिकामा जितिसकेको छ भने तालेमल अढाइ सय पदमा अगाडि छ ।”
गठबन्धन किन प्रभावकारी कार्यान्वयन भएन भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, “महानगरको कुरा गर्नुहुन्छ भने नेपाली कांग्रेस ६ वटामध्ये तीनवटामा मात्र लडेको हो । दुइटामा अग्रस्थानमै छ । अरु कतिपय ठाउँमा केन्द्रमा तालमेल या समझदारी भएयो, तर त्यो मतदातासम्म पुगेन । एउटा दलको मत अर्को दललाई खन्याउनु गाह्रो रहेछ । यसलाई अनौठो रुपमा बुझ्नुहुन्न । कतिपय ठाउँमा कमजोरी भएकै छ ।”
काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रताले दलीय व्यवस्था असफल भएको संकेत गर्दैन भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस महामन्त्री शर्माले भने, “एउटा ठाउँको मत परिणाम वा प्रारम्भिक अग्रतालाई हेरेर दलीय व्यवस्था असफल भयो भन्न मिल्दैन । दलहरु नै लोकतन्त्रका आधार स्तम्भ हुन् । ९८ प्रतिशत भूगोलमा दलहरुले नै विजय हासिल गरिरहेका छन् । काठमाडौंमा स्वतन्त्र उम्मेदवारको अग्रता जनताले दलहरुलाई परिमार्जित हुन दिएको सन्देश हुन सक्छ । जनताले दिएको फैसलालाई हामी गहिरोसँग आत्मसात् गरेर अघि बढ्छौं । तर पनि हामी काठमाडौंमा सिर्जना सिंह विजयी हुनेमा आशावादी छौं ।”
भरतपुरमा त कांग्रेसले रेनु दाहाललाई धोका दिएको देखियो नि भन्ने अर्को प्रश्नमा महामन्त्री शर्माले भने, “रेनुजी र विजयजी कहिले अगाडि कहिले पछाडि हुनुहुन्छ, कहिले बराबर हुनुहुन्छ । अगाडि हुँदा सहयोग गर्यो र पछाडि हुँदा असहयोग गर्यो भन्न मिल्दैन । भरतपुरमा माओवादी केन्द्रलाई दोहोर्याएर मेयर दिँदा पार्टीका साथीहरुले सहज रुपमा लिएनन् । हामीले अलग अलग प्रतिस्पर्धा गरेर जाऊँ पनि भनेकै हो । राजनीतिमा बिजनेसमा जस्तो हुँदैन । तर परिणाम देशव्यापी रुपमा सुखद छ ।”
अर्को प्रसंगमा उनले भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण विशेष महत्त्वको रहेको टिप्पणी गरे । उनले भने, “नेपाल–भारत सम्बन्ध ज्यादै पुरानो छ । बुद्ध लुम्बिनी जन्मेका हुन् । कतिपय अवस्थामा भारतमा जन्मेको प्रचार हुन्छ । त्यसले विवाद पनि निम्त्याइरहेको छ । भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीेको दिन बुद्ध जन्मथलो लुम्बिनी आउनु सुखद र सन्तोषप्रद छ ।”



प्रतिक्रिया दिनुहोस्