Logo

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता



काठमाडौँ,२ जेठ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद एलपी श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७ मत पाउनुभएको नगर निर्वाचन कार्यालय जनाएको छ । उनलाई पछ्याउँदै नेकपा एमालेका कृष्णलाल बजगाइँले दुई हजार २७७ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले दुई हजार २४८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका मधु (नीरज) केसीले एक हजार ८५६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) का भुवन वाइवाले ५८ मत पाएका छन् ।

नगर उपप्रमुखमा नेपाली कांग्रसका समिता श्रेष्ठको अग्रता छ । उहाँले तीन हजार ४९४ मत पाएका छन् । उपप्रमुखमा नेकपा मोवादी केन्द्रका चण्डिका दङ्गालले एक हजार ७९२ मत पाएका छन् । राप्रपाका विजयकुमारी वाइवाले एक हजार ७३२ मतका साथ प्रतिस्पर्धामा छन् । एमालेका लक्ष्मी केसीले एक हजार ७२६ मतका साथ पछ्याएका छन् । नगरपालिकामा हालसम्म नौ हजार ६७३ मतगणना भएको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिए ।

वडा नं। २ र ८ मा कांग्रेस विजयी

नगरपालिकाको वडा नं. २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत गत शुक्रबार भएको मतदानको मतगणनाबाट कांग्रेसका रणबहादुर थिङ वडा अध्यक्ष पदमा निर्वाचित भएको हो । यसैगरी खुला सदस्यद्वयमा राकेश गुरुङ र वासुदेव लामिछाने निर्वाचित भएका छन् । महिला सदस्यमा मीनाकुमारी घिसिङ निर्वाचित भएका छन्।

यसैगरी वडा नं। ८ मा पनि कांग्रेसका पोते थिङ वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा महिलामा तारा रानाभाट, खुलामा समाजवादीसँगको गठबन्धनका मनोज तामाङ र सुदन केसी निर्वाचित भएको जनाइएको छ । नगरपालिकाको वडा नं १ एमाले, वडा नं ३ मा माओवादी र वडा नं.९ मा कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् । अहिलेसम्म नगरपालिकाको पाँच वटा वडाको मतगणना भइसकेको छ । नौ वटा वडा रहेको नगरपालिकामा अहिले वडा नं. ४ र ७ को मतगणना भइरहेको छ । यो सकेपछि वडा नं. ५ र ६ को मत गन्न बाँकी रहने नगर निर्वाचन कार्यालयले जनाएको छ ।
कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा १७ हजार १०० मत खसेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्