Logo

योजना खोज्दै आर्ट ग्यालेरीदेखि नवीन कला मन्दिरसम्म पुगे पर्यटनमन्त्री श्रेष्ठ



काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ आगामी आर्थिक वर्षको बजेट समेट्नु पर्ने योजना खोज्दै काठमाडौंको टोलटोलमा पुग्न थालेका छन् । कला, संस्कृति, सम्पदा र सभ्यताको धनी काठमाडौंबाट निर्वाचित भएर बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठ काठमाडौंका त्यस्ता कुरा जगेर्न गर्न लागिपरेका छन् ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष२०७९/०८० को बजेट ल्याउने तरखर गरिरहेका बेला मन्त्री श्रेष्ठ बजेटमा समावेश गर्नुपर्ने महत्त्वपूर्ण योजना खोज्दै हिँडेका हुन् । उनले आजै आर्ट ग्यालेरीदेखि नवीनकला मन्दिरसम्म पुगेर त्यो ठाउँका लागि गर्नुपर्ने कामको विषयमा छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित आर्ट ग्यालेरीमा अवलोकन गर्न एवं भौतिक सुधार गरिनु पर्ने स्थलहरूको निरीक्षण पुगेका हुन् । आर्ट ग्यालेरीका कार्यकारी अध्यक्ष सागर शमशेर राणाको आग्रह बमोजिम उक्त ठाउँको अवलोकन तथा भौतिक सुधार गरिनु पर्ने स्थलहरूको निरीक्षण गर्न गएको उनको भनाइ छ ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित नवीन कला मन्दिरका लागि समावेश गर्नुपर्ने योजनाको विषयमा समेत मन्त्री श्रेष्ठले छलफल गरेका छन् । उक्त नवीन कला मन्दिरमा बाध्यवादन र सांस्कृतिक सङ्ग्रहालयको आवश्यक सामग्रीहरूको उचित व्यवस्थापन गरिनु पर्ने मागप्रति उनको सकारात्मक प्रतिक्रिया छ ।

अनामनगरस्थित महानगरीय प्रहरी वृत्त परिसरमा सुन्दर बगैंचासहित आधुनिक शौचालय बनाउने र प्रहरी वृत्तमा महिला बन्दीगृह र बालबच्चा हेरचाह केन्द्र भवन निर्माणको लागि स्वीकृतिलगायतका विषयमा समेत फिल्डमै पुगेर मन्त्री श्रेष्ठले जानकारी लिएका छन् । त्यहाँ ठाउँमा सुन्दर पार्क र सुविधा सम्प शौचालय बनाउने योजनामा आफू रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्