Logo

दुवै पदमा दोस्रो पटक आमने सामने



इलाम । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई विजयी बनेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् ।

एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिंगोले ३ हजार ४ सय ९५ मत पाएका थिए । त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए । उपाध्यक्षमा जनत समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।

एमालेकी उम्मेदवार सुनिता सुब्बालाई ६ सय ८३ मतान्तरले पराजित गर्दै नेम्बाङ उपाध्यक्ष पदमा विजयी भएका हुन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेम्बाङले ३ हजार ७ सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुब्बाले ३ हजार ४६ मत पाएकी छन् । इदिंगो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् ।

२०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिंगो अध्यक्षमा विजयी भएका थिए । पाँच वर्षपछि दुवै नेताबीच दोस्रोपटक आमनेसामने भएका हुन् । सुब्बा निवर्तमान उपाध्यक्ष हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा समेत नेम्बाङ र सुब्बा उपाध्यक्ष पदका प्रतिस्पर्धी थिए । सो निर्वाचनमा एमालेकी सुब्बा विजयी भएकी थिइन् । यसपटक नेम्बाङले बाजी मारेका छन् । विजयी राई एमालेका माङसेबुङ गाउँकमिटीका अध्यक्ष हुन् भने इदिंगो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति हुन् ।

तत्कालीन संघीय समाजवादी पार्टी नेपाल इलामका उपाध्यक्ष रहेका नेम्बाङ हाल जनता समाजवादी पार्टी नेपालका प्रदेश कोषाध्यक्ष हुन् । माङसेबुङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धन थियो ।

वडा नम्बर १ मा भने एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । १२ हजार ५ सय ६८ मतदाता रहेको माङसेबुङमा ८ हजार ३ सय ७ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्