Logo

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमणः सम्बन्ध विस्तारमा सफल



काठमाडौं, जेठ ३ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताएका छन्।

२५६६औँ बुद्ध जयन्तीको अवसर पारेर सोमबार लुम्बिनीमा भएको मोदीको भ्रमण पाँचौँ र उनको दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएयताको पहिलो रहेको छ ।

यसरी मोदीबाट पटक पटक नेपाल भ्रमण हुनुले दुई मुलुकबीचको सम्बन्ध सही मार्गमा छ भन्ने सन्देश गएको पनि कूटनीतिज्ञहरूको बुझाइ छ । सरसर्ती हेर्दा मोदीको यो भ्रमण धार्मिक प्रकृतिको देखिए पनि यो अवसरलाई दुवै मुलुकले एक अर्काबीच कूटनीतिक सम्बन्ध सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रयोग गरिरहेको भारतका लागि नेपालका पूर्वराजदूत प्राडा लोकराज बरालले बताए ।

भारतका प्रधानमन्त्री मोदीले यसअघि पनि नेपाल भ्रमणमा आउँदा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामको भ्रमण गर्नुभएको थियो । ती भ्रमणका क्रममा नेपालको विकाससम्बन्धी थुप्रै परियोजनामा हस्ताक्षर पनि भएका थिए ।

बुद्ध जन्मेकै दिन मोदीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध अझ गहिरो भएको भारतका लागि नेपालका अर्का पूर्वराजदूत नीलाम्बर आचार्यले बताए ।

त्यस्तै, राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले पनि मोदीले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउनलाई धार्मिक प्रकृृतिको भ्रमणलाई रोज्ने गरेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्