Logo

देवर्षि नारद को हुन्



विजयप्रसाद मिश्र:  श्रीमद्भागवत महापुराणमा भक्तिका द्वादश आचार्यको नाम उल्लेख गरिएको छ । तीमध्ये अधिकांशलाई भक्तिमार्गमा प्रेरित गर्ने परम्भागवत् आचार्यका रूपमा देवर्षि नारदको नाम प्रमुख मानिन्छ । यहाँसम्म कि भगवान्को वाङ्मय स्वरूप ग्रन्थ भागवतलाई लिपिबद्ध गर्न भक्त–भागवत श्री व्यासदेवलाई प्रेरणा दिने पनि भक्तशिरोमणि स्वयं नारदजी नै हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले महर्षि वाल्मीकिले मर्यादा पुरुषोत्तम श्रीरामको गाथा रामायण रचना गर्नुभएको थियो । ज्येष्ठ महिनाको कृष्णपक्ष द्वितीयाका दिन नारद जयन्ती मनाइन्छ । पौराणिक वाङ्मय अनुसार देवर्षि नारद सृष्टिकर्ता ब्रह्माको मानस पुत्रमध्येका हुनुहुन्छ । पौराणिक ग्रन्थहरूमा उहाँको चरित्र अवलोकन गर्दा हामी पाउँछौँ– देवर्षि नारद तीनै लोकहरूमा भ्रमण गर्दै योग्य समाचार एकत्र गरी योग्य स्थानसम्म पुर्‍याउने कार्य गर्नुहुन्थ्यो । उहाँको जीवन सर्वथा लोककल्याणका लागि समर्पित थियो । उहाँको चिन्तन समाजमा सकारात्मक परिवर्तन ल्याउन, मानव समुदायलाई उचित दिशा दिनका निम्ति हुन्थ्यो ।

आगामी सङ्कटहरूबारे समाजलाई सजग गराउने र ती समस्याबाट पार पाउनका लागि योग्य परमर्श दिने कार्य उहाँबाट हुनेगरेको पाइन्छ । भागवत पुराणमा देवर्षि नारदको चरित्रको विशेष वर्णन भएको पाइन्छ । उहाँले नै महर्षि वेदव्यासलाई श्रीमद्भागवत महापुराण लेख्ने प्रेरणा दिनुभएको कथादेखि उहाँको पूर्वजन्मको कथा, उहाँद्वारा ध्रुवलाई मार्गदर्शन, हिरण्यकश्पुकी गर्भवती पत्नी कयाधुको रक्षा र उनको गर्भमा हुर्कँदै गरेका शिशुलाई भागवत धर्मको उपदेश जस्ता महत्त्वपूर्ण कार्य उहाँबाट सम्पन्न भएको कथा प्रसङ्ग प्रेरक र हाम्रा निम्ति सदैव मार्गदर्शक छन् । श्रीमन्नारायण नामको संकीर्तन गर्दै जगत् कल्याणमा लागिइरहने श्री नारद स्वयं महान् भक्त हुनुहुन्थ्यो । उहाँले आजन्म भक्तिकै प्रचार–प्रसार गरिरहनु भयो । यसैले पनि उहाँको रचना भक्तिसूत्र आत्मानुभूतिरूप अमृत हो । सूचना, सञ्चार र सूचनातन्त्रको आजको युगमा सञ्चारकर्मी/पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहने गर्दछ । समाजमा सौहार्दता, सद्भाव, समरसता निर्माण गर्ने कार्यको निम्ति सूचनातन्त्रसँग आबद्ध समाचारदाता, लेखक, स्तम्भकार, पत्रकार, टि.भी जर्नलिस्ट आदि सबै सञ्चारकर्मीले आद्य–पत्रकार देवर्षि नारदबाट शिक्षा र प्रेरणा लिन अत्यन्त आवश्यक रहेको देखिन्छ । उहाँको चरित्रबारे अध्ययन र त्यस अनुरूपको शिक्षण हुनुपर्ने वाञ्छनीय छ ।‍



प्रतिक्रिया दिनुहोस्