Logo

नुवाकोटका चार पालिकामा कांग्रेस र एक मा एमाले विजयी



काठमाडौँ,३ जेठ । नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर तामाङले दुई हजार ५९२ मत ल्याएका छन् । आशा तामाङ अध्यक्षमा पुनः दोहोरिएका छन् । यसैगरी उपाध्यक्षमा कांग्रेसका सीता तामाङले तीन हजार ७३१ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गामाया तामाङ दुई हजार ४२ मत ल्याएका छन् ।

त्यस्तै सोही गाउँपालिकको वडा नं १ मा कांग्रेसका जीमाबहादुर तामाङ, वडा नं २ मा नेकपा एमालेका सन्तवीर तामाङ, वडा नं ३ मा कांग्रेसका हरिबहादुर तामाङ, वडा नं ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ र वडा नं ५ मा नेपाली कांग्रेसका जीतबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, सूर्यगढी गाउँपालिकामा कांग्रेसका सन्तबहादुर तामाङ तीन हजार ७५९ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्र रिजालले दुई हजार ८८९ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसका मन्जु बुढाथोकीले तीन हजार २०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका गङ्गा आचार्यले दुई हजार ९३२ मत ल्याएका छन् । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित तामाङ र बुढाथोकी दुवैले दोस्रो कार्यकालको लागि निर्वाचित भएको हो ।

सूर्यगढीको वडा नं १ मा माओवादी केन्द्रका राजकुमार तामाङ, वडा नं २ मा कांग्रेसका दीपक अधिकारी, वडा नं ३ मा एमालेका पिङ्गलबहादुर थापामगर, वडा नं ४ मा नेपाली कांग्रेसका रामशरण राई र वडा नं ५ मा नेपाली कांग्रेसकै अच्युतराज ढकाल अध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै, तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तामाङले जिल्ला समन्वय समितिको प्रमुखबाट राजीनामा दिएर पालिकाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तामाङले तीन हजार २४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले दुई हजार ५१८ मत ल्याएका छन् ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी भएका छन् । उनले तीन हजार तीन सय ९७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याएको हो । यसैगरी सो गाउँपालिकाको वडा नं १ मा कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् ।

यस्तै, तारकेश्वर गाउँपालिकामा कांग्रेसका शिव अधिकारीले पाँच हजार ६६५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले तीन हजार ३४१ मत ल्याएका छन् । वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए ।

यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका हरिप्रसाद रिमालले चार चार ६५८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोपिता भट्टले तीन हजार ३९२ मत ल्याएकी छिन् । यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा एसबीच गठबन्धन भएको थियो ।

वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका चक्रबहादुर तामाङ, वडा नं २ मा एमालेका शिव पनेरु, वडा नं ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, वडा नं ४ मा एमालेका हरिबहादुर पौडेल, वडा नं ५ मा कांग्रेसका अशोक तामाङ र वडा नं ६ एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए ।

यसैगरी किस्पाङको अध्यक्षमा एमालेका वीरबल तामाङ विजयी भएका छन् । उनले तीन हजार ६३८ मत ल्याएर निर्वाचित भएको हो । उनको निटकतम प्रतिद्वन्द्वी कांग्रेसका छत्रबहादुर लामाले तीन हजार ४५२ मत ल्याएका छन् । लामा यसअघि किस्पाङको अध्यक्ष थिए ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका अर्जुन न्यौपानेले तीन हजार ७१२ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीलकुमारी मोक्तानले तीन हजार १७७ मत ल्याएका छन्। किस्पाङमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो ।

किस्पाङको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका पशुपति घले, वडा नं १ मा माओवादी केन्द्रका बद्रीप्रसाद देवकोटा, वडा नं ३ मा माओवादी केन्द्रका सुरेन्द्र तामाङ, वडा नं ४ कांग्रेसका विनोद तामाङ र वडा नं ५ मा कांग्रेसकै प्रकाश तामाङ निर्वाचित भएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए ।

जिल्लाका अन्य स्थानीय तहमा मत गणना भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्