Logo

निर्वाचनले आर्थिक गतिविधि बढायो



काठमाडौं, जेठ ४ । स्थानीय तहको निर्वाचनले आर्थिक गतिविधि बढाएको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारदेखि उमेदवारसम्मले गरेको खर्चले गर्दा आर्थिक क्षेत्र चलायमान भएको हो।

यकिन तथ्यांक नभए पनि करिव आधा खर्ब रूपैयाँ बढी रकम खर्च भएको यस क्षेत्रका जानकार बताउँछन्। निर्वाचन प्रचारप्रसारदेखि मत पत्रको छपाइ, माइक तथा साउन्ड सिस्टम, पेट्रोलिय पदार्थ, होटल, रेस्टुरेन्ट, सवारी साधन लगायतको कारोबार ह्वात्तै बढेको छ। निर्वाचनमा हुने भोजभतेरले कृषिजन्य वस्तु, मासु र मदिराको कारोबार बढेको छ।

निर्वाचन आयोगले निर्वाचन सामग्रीदेखि सुरक्षाकर्मीका लागि रकम खर्च गरेको छ। निर्वाचनमा उम्मेदवारले निर्वाचन आयोगले तोकेको सीमाभन्दा धेरै रकम खर्च गरेका छन्। बजारदेखि ग्रामीण क्षेत्रसम्म पैसाको कारोबार बढेको छ। मानिसहरू गृह जिल्ला पुगेर मतदान गरेर फर्किंदा पनि होटलदेखि अन्य क्षेत्रमा खर्च गरेका छन्। निर्वाचनका विभिन्न गतिविधिले आर्थिक क्रियाकलाप चलायनमान बनाएको छ। यसले अर्थतन्त्रमा पनि टेवा पुगेको छ।

स्थानीय तहको निर्वाचनका लागि सरकारले नेपाली सेना बाहेक १५ अर्ब ११ करोड रूपैयाँ विनियोजन गरिएको थियो । निर्वाचन आयोग मार्फत खर्च भएको यो रकम बजारमा गएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा आठ अर्ब ३३ करोड ७४ लाख रूपैयाँ विनियोजन गरेको थियो भने अन्य रकम अर्थले विभिन्न शीर्षकबाट तानेर खर्च गरेको हो।

सरकारले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड, गृह मन्त्रालयलाई ६ अर्ब २९ लाख रकम दिएको थियो। सात सय ५३ स्थानीय तहका लागि करिब ११ हजार मतदान स्थल र मतदाताको संख्या अनुसार करिब २१ हजार मतदान केन्द्र थिए। त्यहाँ पुगेर सरकारी कर्मचारी, सुरक्षाकर्मी, म्यादी प्रहरी, स्वयंसेवकले खर्च गरेका छन्।

निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई रासन र कपडासहित एकजना म्यादी प्रहरीका लागि सरकारले ४४ हजार ४ सय ८० रूपैयाँ खर्च गरेको छ। करिब एक लाख म्यादी प्रहरीका लागि करिब चार अर्ब ४४ करोड रूपैयाँ खर्च भएको छ। म्यादी प्रहरीलाई दुई जोर जुत्ता–मोजा, झुल र स्लिपिङ व्याग समेत उपलब्ध गराइएको थियो। त्यसमा पनि रकम खर्च भएको छ।

बेरोजगार युवा म्यादी प्रहरीमा काम गरे पछि प्राप्त रकम खर्च गर्छन्। म्यादीले मासिक तलब, राशन, पोशाक र दैनिक खाजा खर्च बापत भएको रकम पनि बजारमा आउँछ। त्यसले गर्दा पनि आर्थिक गतिविधि बढाएको छ। उम्मेदवारले पनि कार्यकर्ता परिचालनमा अर्बौं रूपैयाँ खर्च गरेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्