Logo

स्थानीय तहमा कार्यकर्ता पछि परे, कारोबारी अघि बढेः हृदयेश त्रिपाठी



काठमाडौं, ४ जेठ । जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचनमा कारोबारीले कार्यकर्तालाई पछाडि पारेको बताएका छन् ।’
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले भने, “स्थानीय तहको निर्वाचन लोकतान्त्रिक अभ्यास हो । तर मत परिणामले के देखायो भने, यो चुनावमा राजनीतिक कार्यकर्ता पछि परे, कारोबारी अघि बढे । गत चुनावमा पनि ५४.१० प्रतिशत कारोबारी नै थिए । यो चुनावमा जातिवाद र पैसा संस्थागत भयो । हरेक जातिले आफ्नो जातिको उम्मेदजार खोज्न थाल्दा लोकतन्त्रलाई असर गर्छ ।”
स्थानीय तहको निर्वाचनमा दलीय आधारमा हुन नहुनेमा पनि उनले जोड दिए । त्रिपाठीले थपे, “चाणक्यले भनेका छन्- सज्जन चुप लाग्दा दुर्जनले राज गर्छन् । स्थानीय तहको निर्वाचन दलीय आधारमा हुँदा सक्षम र कारगर व्यक्ति आउन सक्दैनन् । स्थानीय तहमा जनप्रतिनिधिलाई पारिश्रमिक तोकिएको छ, त्यो पनि पुनर्विचार नगरी भएको छैन । कतिपयले यसलाई लोकसेवाको ५ वर्षे अस्थायी जागिर सम्झेका छन् । स्थानीय तहमा बेरुजु पनि बढेको छ ।”
यहाँ तीनचार दलका नेताले जे भन्यो, त्यो जनताले नमान्ने काठमाडौं, धनगढी, चितवन, जनकपुरले देखाएको उनले औंल्याए । त्रिपाठीले भने, “माथिमाथि शीर्ष नेताहरु बसेर गरिने निर्णयले दलीय आन्तरिक प्रणालीको धज्जी उडाएको छ । केन्द्रमा नेताले जे निर्णय गर्छन्, त्यसलाई जनताले मान्नैपर्छ भन्ने छैन । हामी मिले जे पनि गर्न सक्छौं भन्ने उनीहरुको दम्भ छ । उनीहरुका कार्यकर्ता त उठ्लान्, जनता उठ्दैनन् । त्यो काठमाडौं, धनगढी, चितवन, जनकपुरले देखाइसकेको छ ।”
जसको विरुद्ध आन्दोलन उठाए, उसैसँग हात मिलाएकाले मधेसमा जसपा र लोसपाको खराब प्रदर्शन भएको पनि त्रिपाठीले औंल्याए । साथै उनले एमालेले स्थानीय तहको निर्वाचनमा विभाजनको असर भोगेको विश्लेषण पनि गरे । उनले थपे, “एमालेमा विभाजनको असर ठूलै देखियो । संघको सरकार, ६ वटा सरकार गए, रंगीचंगी बहुरंगी सरकार बन्यो । एमालेले भुइँको एक मोहर टिप्न जाँदा दुई रुपियाँ गुमायो । जनताले मैले ठानेको मान्छन् भन्ने नेतागणको मनोविज्ञान रोग हो ।”
त्रिपाठीले कांग्रेस कम्युनिस्टहरु फुटेका बेला उत्साहित भएको भएको बताए । उनले भने, “सन् १९९५ मा भारतीय पूर्व अटल बिहारी बाजपेयीले हामीलाई के भन्नुभएको थियो भने दक्षिण एसियाका जनता र नेता आफ्नो कर्मको फल होइन, विपक्षको अकर्मण्यताको लाभ उठाउँछन् । हामीकहाँ पनि कम्युनिस्टले गल्ती गरे कांग्रेसलाई, काग्रेसले गल्ती गरे कम्युनिस्टलाई फाइदा हुन्छ ।”
दुई दलीय प्रणालीमा जानुपर्छ भन्ने कुरा प्रतिगामी सोच भएको आरोप पनि त्रिपाठीले लगाए । उनले थपे, “यो प्रतिगामी सोच हो । दुई दलीयताले नेपाली समाजको बहुलवादी र विविधतालाई धान्नै सक्दैन । हाम्रो समस्या नै के हो भने गाडी मात्र फेर्यौं । ड्राइभर फेरेनौं । त्यसको मूल्य चुकाइरहेका छौं ।”
पत्रकार धमलाको अर्को प्रश्नमा त्रिपाठीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ६ घण्टे लुम्बिनी भमण शानदार रुपमा सफल भएको पनि बताए । उनले भने, “मोदीजी नेपाल-भारत सम्बन्ध बढाउन इच्छुक र प्रयत्नशील हुनुहुन्छ । यो सम्बन्ध अटल छ । यसको विकल्प पनि छैन । नेपाल -भारत सम्बन्ध कुनै राजा महाराजा, सरकार, संसदले निर्धारण गरेको होइन, यो जनता-जनताबीचको सम्बन्ध हो । यो कुरालाई मोदीजीले बुझ्नुयो । यसरी नै अघि बढाउनुपर्छ । उहाँले जुन दिन लुम्बिनी भ्रमणका लागि रोज्नुभयो, त्यसले बुद्ध भारतमा जन्मेको कुप्रचारलाई चकनाचुर पारिदियो । यो पनि उहाँको भ्रमणको सुखद पक्ष हो ।”



प्रतिक्रिया दिनुहोस्