Logo

राप्रपाले टेक्ने ठाउँ बलियो बनायो



मोहन श्रेष्ठ: आज जेठ ४ गते- ०६३ सालमा आजकै दिन नेपालको हिन्दुराष्ट्रको पहिचान हटाएर धर्म निरपेक्षता कायम गरिएको थियो । देशमा यतिबेला स्थानीय तह निर्वाचनको परिणाम आइरहेको छ, यसपटक पनि नेपालको हिन्दु राष्ट्रको पहिचान हटाएर धर्म निरपेक्ष राष्ट्र बनाउन अग्रणी भूमिका खेलेका राजनीतिक दललाई जनताले मत दिएका छन् । आफ्नो धर्म, संस्कृति, परम्परा, संस्कार र सभ्यतालाई चुनौती दिने राजनीतिक दल फेरि पनि जनताको छनौटमा पर्नु विडम्बनापूर्ण छ ।
नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने राप्रपा पनि यो चुनावी मैदानमा थियो मात्रै होइन शानदार ढंगबाट चुनावी अभियान सञ्चालन गरेको थियो । हामीले यस निर्वाचनमा अपेक्षाकृत नभएपनि सम्मानजनक परिणाम ल्याइरहेका छौं । राप्रपाका विरुद्ध धर्म निरपेक्ष पक्षधर राजनीतिक दलहरूको घोषित/अघोषित गठबन्धन बनेका कारण आशातित परिणाम नआएको भएतापनि हामीले यसपटक टेक्ने ठाउँ बनाएका छौं । यसको जगमा उभिएर धर्म निरपेक्षताको खारेजी र हिन्दु राष्ट्र पुनःस्थापनाको दिशामा निरन्तर अघि बढिरहने छौं ।
संविधानले जबर्जस्ती धर्म परिवर्तनलाई निषेध गरेको छ, यसका बाबजुद संगठित र योजनाबद्ध रुपमा धर्म परिवर्तन गर्ने, गराउने काम भइरहेको छ । हामीले त्यसका विरुद्ध निरन्तर आवाज उठाउँदै आइरहेका छौं । आफ्नो धर्म, संस्कृति र पहिचान माथि भइरहेको अतिक्रमणका विरुद्ध नागरिक स्वयं सचेत हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । जनताले एकदिन बुझ्नेछन्, बुझ्नैपर्छ । जनताको ताजा अभिमतलाई सम्मान र स्विकार गर्दै जिम्मेवार राजनीतिक दलको हैसियतले बुझ्ने बुझाउने, सुन्ने सुनाउने हाम्रो अविचलित अभियान जारी रहनेछ ।
नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनः स्थापित गरौं ।-श्रेष्ठको फेसबुक पेजबाट



प्रतिक्रिया दिनुहोस्