Logo

सबै स्थानीय तहका मतगणना पाँच दिनभित्र सम्पन्न गर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं, ४ जेठ । सबै स्थानीय तहको पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन दिएको हो ।

‘वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ । परिणाम आउन बाँकी पालिकाहरुमा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ ।’ आयोगको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्न र गराउन समेत आयोगले ध्यानाकर्षण गराएको छ।

आयोगले विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न—गराउन आयोग निर्देशन दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्