Logo

ओलीको चुनावी गठबन्धनमा को को



काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल पाँच दलसँग एक्लै चुनाव लड्ने र अरु केजी हुँदा आफू क्विन्टल भएको बताएका थिए । तर, के स्थानीय चुनावमा ओली नेतृत्वको नेकपा एमाले एक्लै लडेको थियो ?

वास्तवमा एमालेले घोषित अघोषित चुनावी गठबन्धन बनाएको थियो । चुनावभन्दा केही हप्ता अघि मात्र कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलले एमालेसँग गठबन्धन गरेका थिए । एमालेको सूर्य चिन्हमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले चुनाव लड्ने सहमति भए अनुसार विभिन्न स्थानमा कार्यान्वयन समेत भयो ।

ओलीले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सँग पनि मधेश प्रदेशमा अघोषित गठबन्धन गरे । चुनावमा सघाउने र उम्मेदवारी नदिने सम्मको निर्देशनहरु विभिन्न पालिका र वडा तहसम्म गएका थिए ।

हृदयश त्रिपाठी नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीसँग पनि ओलीको केही स्थानमा तालमेल भयो । त्रिपाठी २०७४ को प्रतिनिधि सभा चुनावमा सुर्य चिन्ह लिएर निर्वाचित भएका सांसद हुन् । उनी अहिले पनि एमालेकै सांसदका रुपमा सूचीकृत छन् ।

सीके राउतको जनमत पार्टीसँग पनि एमालेको केही स्थानमा तालमेल भयो । राउतले यसको फाइदा पनि लिए । एमालेले पनि तराईका केही पालिकामा फाइदा लिनसक्यो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि एमालेको केही स्थानमा तालमेल भयो । अधिकांशमा भने यी दुई दलले प्रतिष्पर्धा गरे । ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन दुवैको गृहजिल्ला झापा हो । यी दुईबीच सुमधुर सम्बन्ध छ । स्थानीय चुनावमा पनि केही स्थानमा तालमेल भए ।

ओलीले अघोषित रुपमा विप्लवसँग पनि तालमेल गरेका थिए । विप्लवले पनि छापामार शैलीमा उम्मेदवार उठाएर तालमेल गरेका थिए । ओलीले डडेलधुरामा नेपाली काँग्रेस वीपीसँग पनि गठबन्धन गरेका थिए । कर्ण मल्ल नेतृत्वको काँग्रेस वीपीले एमालेसँग तालमेल गरेर डडेलधुरामा वडाध्यक्ष समेत जितेको छ । यसरी ओलीले सत्ता गठबन्धनविरुद्ध रणनीतिक रुपमा चुनावी तालमेलहरु गरे ।



प्रतिक्रिया दिनुहोस्