Logo

बागमती नगरको मेयरमा माओवादीका थापा विजयी



सर्लाही, ४ जेठ : बागमती नगरवासीले दोस्रो कार्यकालका लागि निवर्तमान मेयर भरत कुमार थापा र उपमेयर लिलाकुमारी मोक्तानलाई निर्वाचित गरेका छन् ।

दोस्रो कार्यकालको लागि बागमती नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका मेयर थापालाई नगरवासीले भारी मतान्तरले विजयी गराएका हुन् । थापा ३९८९ मतान्तरले विजयी भएका छन् । उनले कुल ११ हजार ३५७ मत प्राप्त गरे ।

मेयर थापाको निकटतम प्रतिस्पर्धीको रूपमा आफूलाई उभ्याएका नेकपा एमालेका उम्मेदवार टंक बहादुर बस्नेत (गोकुल)ले कुल ७३६८ मत मात्र प्राप्त गरे ।

यस्तै उपमेयरकी उम्मेदवार कुमारी मोक्तानले पनि भारी मतान्तरसहित जित हासिल गरेकी छन् । माओवादी केन्द्रकी मोक्तानले ३१७४ मतान्तरले जित निकालेकी हुन् । उपमेयरमा निर्वाचित मोक्तानले कुल १० हजार ८७९ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार सरिता घिसिङले ७ हजार ७०५ मतमात्र प्राप्त गरिन् ।

यस्तै १२ वडा मध्य माओवादी केन्द्रले १० वडा वडामा जित निकालेको छ । एक वडामा नेकपा एमाले र एक वडामा नेपाली कांग्रेसले जित निकालेको छ ।

माओवादी केन्द्रबाट वडा नम्बर १ मा निवर्तमान वडाध्यक्ष गम्भीर सिङ पाख्रिन प्यान, २ नम्बरमा टेक बहादुर बल (बाबु), ३ नम्बरमा निवर्तमान वडाध्यक्ष तिलक मोक्तान, ४ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्णकुमार लामा निर्वाचित भएका छन् ।

यस्तै ५ नम्बरमा निवर्तमान वडाध्यक्ष कृष्ण बहादुर वाइबा, ६ नम्बरमा गोपाल बहादुर थापा, ७ नम्बरमा निवर्तमान वडाध्यक्ष दुर्गाबहादुर हेन्जन, १० नम्बरमा निवर्तमान वडाध्यक्ष जुगैर कादिर, ११ नम्बरमा निवर्तमान वडाध्यक्ष प्रदीप आचार्य र १२ नम्बरमा निवर्तमान वडाध्यक्ष ओम बहादुर श्रेष्ठ निर्वाचित भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्