Logo

मधेस प्रदेशमा मतगणनामा सत्तारुढ दलले धाँधली गरेको महासेठको आरोप



जनकपुरधाम , ४ जेष्ठ : नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान शान्तिपूर्ण भए पनि कांग्रेसलाई जिताउन मतगणनामा खटेका निर्वाचन अधिकृतहरुबाट धाँधली गरिरहेको आरोप लगाएका छन् ।

एमालेका मधेश प्रदेशका इन्चार्ज समेत रहेका महासेठले बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गरी निर्वाचनमा प्रहरीको भूमिका राम्रो रहे पनि मतगणनामा निर्वाचन अधिकृतहरुले सत्ता गठबन्धनलाई जिताउन धाँधली गरिरहेको आरोप लगाए ।

निर्वाचनमा नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धन सरकारले सत्ताको दुरुपयोग गर्दै एमालेलाई हराउन स्थानीय निर्वाचनलाई सत्ता कब्जा गर्ने माध्यम बनाएको उनले आरोप लगाए ।

निर्वाचन सम्बन्धी नेपालको इतिहासमै कहिले नभएको निर्णयहरु यस पटक भएको आरोप लगाउंदै उनले भने, ‘सत्तारुढ गठबन्धनले एमालेलाई हराउन खसेको मतपत्रभन्दा पनि बढी मत फेला परे पनि त्यसलाई सदर गिन्ती गर्ने लगायतका निर्णय निर्वाचन आयोगबाट स्लकुलर भएको छ । यसले निर्वाचन प्रणालीलाई बदनाम गर्ने काम भएको छ ।’

मधेस प्रदेशका धनुषा, सर्लाही, रौतहट, महोत्तरी, पर्सा, सिरहा र सप्तरी सहितका अधिकांश जिल्लामा मतपेटिका भित्र बढी मतपत्र भेटिनु, सत्तारुढ गठबन्धन दलको लागि सहज रुपमा रि काउन्ट गर्नु र अन्य दलले रि काउन्ट माग गर्दा पनि नगर्नु लगायतका क्रियाकलापले देखिएको उनले बताए ।

रौतहटमा एमाले पक्षका १२ मतदान केन्द्रमा मतदान रद्द गराउनु, सर्लाहीको कडौना धनकौल, बागमती, बलरा र बरहथवामा एमाले कार्यकर्तामाथि आक्रमण गरी बुथ कब्जा गर्नु, धनुषाको धनौजी, क्षिरेश्वरनाथ र मिथिला बिहारी सहितका पालिकामा खसेको भन्दा बढी मत भेटिनु भनेको एमालेलाई हराउन सत्तारुढ गठबन्धन दलबाट धांधली भएको उनले दाबी गरे ।

सत्ताको दुरुपयोग गरी कांग्रेसले एमालेबाट धनगढी नगरपालिकाका जितिसकेको घोषणा गरेको दुई घण्टा पछि पुनः मतगणना गरि केहि मतले सो उम्मेदवार हराएर आफ्ना उम्मेदवारलाई जिताउनु, जित्न लागेका एमालेका उम्मेदवारहरुलाई १०/१० मतको मतान्तरले जबरजस्ती हराउनु लगायतका क्रियाकलाप अनुचित रहेको भन्दै मतपत्र बढी भेटिएका कारण मंगलवार बिहानैदेखि स्थगित गरिएको मतगणना सुचारु गर्न माग गरे ।

सचिव महासेठले मतदानको क्रममा मतदान केन्द्रको पोलिङ्ग एजेन्टमा खटिएकाहरुले एक/एक हजार रुपैयाँ राखेर नै मतपत्र लिने बेलामा मतदाताहरुलाई दिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्