Logo

‘ब्यालेट बक्स’ मा बालेनको लौरो



काठमाडौं, जेठ ५ । स्थानीय तह निर्वाचन परिणाम धमाधम सार्वजनिक भइरहेको बेला यतिखेर सबैको ध्यान काठमाडौं महानगरपालिकाले खिचेको छ । दुई ठूला राजनीतिक दलका उम्मेदवारबीच स्वतन्त्र रूपमा उदाएका बोलेन्द्र साह (बालेन)ले मत गणनाको सुरुदेखि नै अग्रता लिँदै आएका छन् । एमाले र कांग्रेसले जितेकै वडामा पार्टीलाई भन्दा बढी मत बालेन्द्र साहलाई आइरहेको छ ।

यो क्रम बुधबारसम्म निरन्तर जारी छ । पाँच वर्षअघिदेखि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने रणनीति बनाएर अघि बढेका बालेन ‘ब्यालेट बक्स’मा मतदाताको मत लिन सफल भए । युवादेखि वृद्धसम्मले उनलाई मत दिनुमा विशेषगरी राजनीतिक दलका नेतृत्वले मेयरमा उठाएका उम्मेदवारका कारण पनि हो । बालेनले पाएको मतले अहिले राजनीतिक दलका नेता सोच्न बाध्य छन् ।

कांग्रेस र एमालेका नेताले बालेनको पाएको मतलाई स्वाभाविक रूपमा समेत लिएका छन् । बालेनका मतको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवाहरूको मतको सम्मान गर्नुपर्ने बताएका छन् भने एमाले सचिव योगेश भट्टराईले उम्मेदवार चयनमा पार्टी चुकेको टिप्पणी गरेका छन् ।

हालसम्म काठमाडौं महानगरको मतगणनाको तथ्यांक हेर्दा साहले ३८ प्रतिशत मत पाएको देखिन्छ । मतगणनाको यो गति निरन्तर रूपमा अघि बढेमा बालेन्द्र साह मेयरमा निर्वाचित नहोलान् भन्न सकिन्न । प्रारम्भिक मतगणनामा देखिएको रुझान कायम रहने हो भने काठमाडौं महानगरको प्रमुखका रूपमा उनले पाँच वर्ष काम गर्न पाउनेछन् ।

दलहरूको परम्परागत र स्थायी संगठनलाई जित्न सकिँदैन भन्ने मान्यतालाई उनले भत्काइदिएका छन् । त्यसो त वडामा एमाले वा कांग्रेस जुनसुकै दलको प्रभाव रहेता पनि बालेनले कांग्रेस र एमाले दुवै पार्टीको भोट काटेर अग्रता लिइरहेका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्