Logo

बजेट लेखनको चटारो नारा बनाउँदै विज्ञ समूह



काठमाडौं, जेठ ५ । नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा ११ दिन मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक हुने बजेट लेखनको चटारोमा जुटेको छ ।

जसका लागि अहिले बजेट लेखनमा खटिएका विज्ञहरूको समूह बजेटका नारा लेख्नमा नै व्यस्त छन् । आगामी १५ जेठमा संसदमा प्रस्तुत हुने बजेटको सिलिङ झन्डै साढे १७ खर्ब रुपैयाँ अंक टुंगो लागेको छ ।

यससँगै अर्थ मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको हो । यसअघि बजेट लेखन समितिमा रहेकाहरूलाई सुझावसहित राष्ट्रिय योजना आयोगले पनि आगामी आवको बजेटका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ अर्थ मन्त्रालयलाई पठाएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन सक्दो प्रयास गरिएको छ ।

सो क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न विज्ञ समूह नै खटाइएको हो । आगामी बजेट निजी क्षेत्रलाई विशेष ‘फोकस’ गरी ल्याइने अर्थमन्त्री जर्नादन शर्माले बताइसकेका छन् । उनले यसपालिको नयाँ बजेटमा ‘करको दर होइन दायरा बढ्छ’ भनेर निजी क्षेत्रलाई रिजाउने प्रयास गरिरहेका छन् ।

सोही कारण अर्थ मन्त्रालय स्रोतले पनि आगामी बजेट ‘कृषि, रोजगार, श्रमजस्ता क्षेत्र बजेटको प्राथमिकतामा राखेर ल्याउने बताएको छ । यस्ता क्षेत्रमा नारा लेख्न विज्ञ समूहले काम गर्दै रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी बजेटमा यस्ता नारासहित समावेश गरी अब बजेट भाषणलाई अन्तिम रूप दिने काम सुरु भएको छ । अर्थमन्त्री शर्माको सचिवालयका एक सदस्यका अनुसार पनि नयाँ बजेटलाई अन्तिम रूप दिने क्रममा मन्त्रालयमा बजेट लेखनमा खटिएको मुख्य समूह अर्थको सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुख र आवश्यक पर्दा विभागीय मन्त्रालयका सचिवसमेतलाई बोलाएर अर्थमन्त्री स्वयंले बजेट हेरिरहेका छन् । आगामी ‘बजेटको कुल अंक तय भइसकेको छ, अब केही कार्यक्रम चल्न सक्छन्’ अर्थमन्त्रालय स्रोतले भन्यो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्