Logo

महानगरमै ४०% मत बदर



काठमाडौं, जेठ ५ । स्थानीय तह चुनावमा सत्तासीन पाँच दल र विपक्षी दलहरूको अलगअलग गठबन्धनका कारण मतदाता अलमल पर्दा ४० प्रतिशतसम्म मत बदर भएको छ।

ठुलो मतपत्र, फरकफरक चुनाव चिह्न र उम्मेदवार धेरै भएकाले मतदाता अलमलमा पर्दा बदर मत संख्या बढी भएको हो। देशका ६ वटा महानगरपालिकाको मतगणना जारी रहेकै बेला गनिसकिएकामध्ये २५ देखि ४० प्रतिशतसम्म मत बदर भएको भेटिएको छ। उम्मेदवार नै नभएको चिह्नमा पनि स्वस्तिक छाप लगाइएको छ। सत्तासीन नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले स्थानीय चुनावमा तालमेल गरेका थिए।

त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र परिवार दलसमेत बीच पनि तालमेल भएको थियो। सबै पार्टीका चुनाव चिह्न फरक भएको र मेयर, उपमेयर, वडाध्यक्ष, सदस्यहरू फरकफरक दलबाट उम्मेदवार भएकाले मतपत्रमा तलमाथि छाप लगाउँदा बदर प्रतिशत बढेको देखिएको छ।

निर्वाचन आयोगले एक पालिकामा एउटा पार्टीका सातजना प्रतिनिधि छान्न पाउनेगरी लगातार चुनाव चिह्न राखेको छ। तर तालमेल गरेका उम्मेदवारलाई भोट दिँदा माथि, तल, दायाँ, बायाँ स्वस्तिक छाप लगाउनुपर्ने भएकाले मतदाताले मेसो नपाउँदा भोट खेर गएको हो ।

काठमाडौं, ललितपुर, विराटनगर, वीरगन्ज, पोखरा, भरतपुर महानगरपालिकामा मतगणना भइरहँदा बदर मतपत्रको चाङ लागेको छ। विराटनगर महानगरपालिकामा बुधबार बेलुकीसम्म ४८ हजार २०९ मत गनेर सकिएको छ। विराटनगरमा मेयर पदमा परेका मतमध्ये १२ हजार २२१ अर्थात् २५ प्रतिशत बदर भेटिएको छ।

त्यसैगरी उपमेयर पदमा परेका मतमध्ये १८ हजार ७७० अर्थात् ३९ प्रतिशत बदर भेटिएको सूचना अधिकारी हेम बुढाथोकीले जानकारी दिएका छन्।

२०७४ सालको स्थानीय तहको चुनावमा विराटनगर महानगरपालिकामा खसेको मतको करिब २५ प्रतिशत बदर भएको थियो।  नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot