Logo

नेकपा एसलाई धोका



काठमाडौं, जेठ ५ । एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन्। सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका नेपाली कांग्रेस र माओवादी केन्द्रले मतदानमा पनि नेकपा एसलाई धोका दिएका हुन्।

नेकपा एसका एक केन्द्रीय सदस्यका अनुसार आन्दोलनबाट आएको शक्ति नभई विद्रोहबाट जन्मेको पार्टी भएकाले गठबन्धन दलहरूले जुन सदाशयता देखाउनुपर्ने हो, त्यो नदेखाएको पाइएको छ। ती सदस्यले गठबन्धन दलले नेकपा एसको मत लिएको तर मत नदिएको निर्वाचन परिणामबाट देखिएको बताए। उनका अनुसार गठबन्धन नेतृत्वले सिट बाँडफाँटमा देशभर नेकपा एसलाई धोका दिएको र मतदानमा पनि यसको असर देखिएको छ।

काठमाडौंको शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतमा नेकपा एसलाई गठबन्धन दलबाट धोका भएको देखिएको छ। काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ।

‘कांगे्रस र माओवादी केन्द्र मिलेर नेकपा एसलाई धोका दिएको देखिन्छ। उनीहरूले हाम्रो पार्टीका कार्यकर्तालाई उपयोग गरेको अवस्था छ। यसको समीक्षा हुन्छ,’ नेकपा एसका अर्का एक केन्द्रीय सदस्यले भने। कम्तीमा ६० स्थानीय तहमा प्रमुख पद जित्ने आकांक्षासहित नेकपा एस निर्वाचनमा होमिएको थियो।

नेकपा एससँग ६६ स्थानमा तालमेल गरेका कांग्रेस र माओवादीले व्यवहारमा भने इमानदारी नदेखाएको विश्लेषण सो पार्टीका नेताहरूको छ। ‘स्थानीय तह निर्वाचनमा गठबन्धन भएदेखि नै हामीले अन्याय भएको महसुस गरेका छौं। यो विषयमा समीक्षा हुन्छ,’ नेकपा एसका केन्द्रीय सदस्य मोहन गौतमले भने। उनका अनुसार पुरै नतिजा आएपछि पार्टीको बैठकले भावी रणनीति र निर्वाचन परिणामबारे समीक्षा गर्नेछ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गठबन्धन दलबाट आफ्नो पार्टीका उम्मेदवारलाई सोचेजस्तो मत नआएको बताइसकेका छन्। दुवै नेताले निर्वाचनको परिणाम आइसकेपछि समीक्षा गर्ने बताएका छन्।

केन्द्रबाट भएको तालमेलमा एक महानगर र एक उपमहानगरपालिकाको प्रमुख पाएको नेकपा एसलाई जिल्ला र प्रदेशस्तरमा कांग्रेस र माओवादी केन्द्रले मतदान प्रक्रियामा धोका दिएको एक नेताले बताए। कांग्रेस र माओवादीले नेकपा एसको हैसियत नभएको भन्दै धोका दिएको ती नेताको दाबी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्