Logo

एकीकृत समाजवादी दिउँसै बत्ती बालेर खोज्नुपर्ने स्थितिमा पुग्योः विष्णु रिजाल



काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता विष्णु रिजालले जनमतको हिसाबले आफ्नो पार्टीले नहारेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने, “स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन र पार्टी विभाजनका कारण नेकपा एमालेको केही मत प्रभावित भएको छ । जनमतको हिसाबले एमालेले हारेको छैन । तर सिट संख्यामा कम भएको तथ्यलाई अस्वीकार गर्ने कुरा आउँदैन ।”
नेकपा (एकीकृत समाजवादी) दिउँसै बत्ती बालेर खोज्नुपर्ने स्थितिमा पुगेको पनि उनले बताए । रिजालले थपे, “एकीकृत समाजवादीका कारण एमालेलाई असर पर्यो तर त्यो भन्दा बढी असर एकीकृत समाजवादीलाई पर्यो । माओवादी केन्द्र र कांग्रेसको घोडा बनेको एकीकृत समाजवादी दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्थामा पुगेको छ । उसको जति सिट त स्वतन्त्रले पनि जितेका छन् । त्यो राष्ट्रिय पार्टी नै बन्दैन । ऊसँग हामीले कार्यगत एकता वा रोइकराई गर्ने अवस्था रहेन ।”
चौतर्फी घेराबन्दीका बीचमा पनि केपी ओलीको नेतृत्वमा नेकपा एमाले विजयी बनेको पनि रिजालले औंल्याए । उनले भने, “नेकपा एमाले एक्लै लडेको हो । एमालेको अनुपातमा नेपाली कांग्रेस र माओवादी केन्द्रले एक्लै कति जितेका छन् र ? संख्याको हिसाब गर्ने हो भने पनि कांग्रेसले २६६ स्थान जितेको हो, अहिले ३ सय पुर्याउँछ, माओवादीवादीले १०५ सिट जितेको थियो, १२५ सिट पुर्याउला । तर उनीहरुले संसारै जितेका छैनन् । एमालेले कतिपय ठाउँमा उम्मेदवारी दिँदा भूलचुक भएको हुन सक्छ, स्थानीय तहमा जनमतको सम्मान नभएको पनि हुन सक्छ । त्यो समीक्षाको विषय हो । तर प्रतिक्रियावादीको चौतर्फी घेराबन्दीका बीचमा केपी ओलीबाहेक विकल्प थिएन । उहाँ ३० दिनमा २८ जिल्ला पुग्नुभयो । १८ घण्टा खटिनुभयो ।”
काठमाडौंमा कांग्रेससँग प्रतिस्पर्धा हुने ठानेकोमा अलग परिस्थिति बनेको पनि उनको टिप्पणी छ । उनले भने, “काठमाडौंको अलिकति परिस्थिति अलग भयो । कांग्रेससँग प्रतिस्पर्धा हुन्छ भन्ने थियो । बाँकी महानगरमा हाम्रो मत घटेको छैन । पहिले कांग्रेस र हामी हाराहारीको हैसियतमा थियौं । अहिले कांग्रेसमा अरु दलको मत थपिँदा केही फरक परेको छ । पहिले हामी नेपालगन्ज र वीरगन्जमा पाँचौं हौं। अहिले प्रतिस्पर्धामा आयौं । मत बढाएका छौं । यो पनि उपलब्धि नै हो।”



प्रतिक्रिया दिनुहोस्