Logo

म गठबन्धनले एकीकृत समाजवादीलाई धोका दियो भन्ने पक्षमा छैनः रामकुमारी झाँक्री



काठमाडौं, ५ जेठ । सहरी विकास मन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टीलाई गठबन्धनले धोका दिएको भन्ने निष्कर्षमा नपुगेको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले भनिन्, “यो स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) लाई धक्का लाग्नु स्वाभाविक हो । पार्टी निकाला भएपछि हामीले क्रान्तिकारी पार्टी निर्माण गरेको सात महिनामात्र भएको छ । देशभरि संगठन बन्नै बाँकी थियो । लोकप्रिय भइसकेको थिएन । अहिले चुनावी गठबन्धन पनि थोरै ठाउँमा भएको थियो । कतिपय ठाउँमा हाम्रा उम्मेदवार एक्लै पनि लडेका थिए । कतिपय वडामा रुख, हसिया हथौडा, छाता चिह्न लिएर उठेका छन् । त्यसैले अहिले नै वास्तविक सदस्य कतिले जितेका छन् भन्ने यकिन छैन । म अहिले नै गठबन्धन वा नेपाली कांग्रेसले धोका दियो भन्ने ठाउँमा छैन । कुनै समस्या सिर्जना हुनुमा बाह्य कारण सहयोगी मात्र हो । मुख्यतः आन्तरिक कारण हो ।”
गठबन्धन संस्कृतिको विकास नहुनु र मतदाता शिक्षा प्रभावकारी नहुनु पनि एकीकृत समाजवादीको हारको मुख्य कारण भएको नेतृ झाँक्रीको दाबी छ । उनले भनिन्, “हामी आफैं कांग्रेस र माओवादीसँग कठोरतम प्रतिस्पर्धा गरेर आएका हौं । गठबन्धनमा सबैले सबैलाई स्वीकार गर्ने अवस्था थिएन । गठबन्धन संस्कृति नयाँ हो । कांग्रेस सभापति शेरबहादुर देउवालगायत अन्य शीर्षनेता, माओवादीले धोका भएको भन्नु त्यति राम्रो होइन । एकले अर्कालाई हिलो छ्याप्नु उचित पनि होइन । अर्को पार्टीको भोटले जित्ने भन्दा पनि आफ्नै जनाधार निर्माण गर्नु ठूलो कुरा हो । अर्को कुरा, बदर मतका कारण पनि अपेक्षाकृत परिणाम आएन । कतिपय मतदाताले हामीलाई भोट त हाले तर चिह्न मिलाएनन् ।”
अहिले नै नेकपा (एकीकृत समाजवादी) र नेकपा एमालेबीच एकता हुन्छ भन्नु अनुमान मात्र भएको उनले बताइन् । झाँक्रीले भनिन्, “अहिलेसम्म एमालेबाट पार्टी एकताका लागि औपचारिक प्रस्ताव आएको छैन । हामी त्यो अनुमानको बाटो हिँड्छौं भन्ने लाग्दैन । हामीलाई केपी ओलीले स्वीकार्नु पनि पर्यो, हामी जानु पनि पर्यो । राजनीति त्यतातिर फर्केको छैन ।”
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रताले युवा राजनीतिमा आउने स्पष्ट संकेत भएको झाँक्रीले बताइन् । उनले थपिन्, “बालेन शाह सिम्बोलिक पात्र हो । युवाहरु राजनीतिमा आउन चाहन्छन्, परिवर्तन गर्न चाहन्छन् भन्ने सन्देश हो । यो मेरा लागि सुखद अवसर हो भने अरुका लागि चुनौती । बालेन शाहले जित्दै गर्दा मेरा तर्फबाट भरपुर साथ र सहयोग हुन्छ । मैले बागमती किनारका घरटहरा हटाउन खोज्दा मलाई दबाब आयो । अब म बालेनको लौरी लगाएर काम गर्नेछु । उनलाई भोट हाल्नेको पनि सम्मान गर्नुपर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्